हिमाली आवाज । गण्डकी प्रदेश सरकारले प्रदेशमै आम सञ्चार माध्यमम दर्ता, नविकरण र खारेजीको व्यवस्थाका लागि प्रेस रजिष्टारको कार्यालय स्थापना गर्ने भएको छ ।
सङ्घीयताको मर्म र भावना अनुसार प्रदेश सरकारले अघि बढाएको आम सञ्चार विधेयक पारितपछि प्रेस रजिष्टारको नियुक्ति लगायतका कार्य अघि बढ्ने र सञ्चार माध्यमहरुले दर्ता, नविकरण लगायतमा भोग्नुपरेका समस्या समाधान गरिने कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घको आयोजना र महासङ्घ कास्की शाखाको समन्वयमा आजदेखी पोखरामा सुरु भएको एक हप्ते आधारभुत पत्रकारिता तालिमको उद्घाटन गर्दै मन्त्री थापाले प्रदेशसभामा विचाराधिन रहेको सञ्चार विधेयकलाई परिमार्जन गरी नमूना विधेयका रुपमा अघि बढाउन सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,“आम सञ्चार विधेयक हाल विचाराधिन रहेको छ । पत्रकारिताको सबै क्षेत्रका साथीहरुसँग बसेर छलफलबाट परिमार्जन गरी नमूना विधेयकका रुपमा ल्याउने प्रयास गर्नेछौँ । सञ्चार विधेयक समानुकुल परिर्वत गरेर पास गरेपछि प्रेस रजिष्टारको कार्यालय पोखरामा रहने गरी स्थापना गरिने छ ।”

सो अवसरमा मन्त्री थापाले पत्रकार महासङ्घ कास्कीमा पुस्तकालय स्थापनाका लागि रु १५ लाख र महासङ्घ प्रदेशका छ जिल्ला शाखाको भवन निर्माणका लागि रु ६० लाख विनियोजन गरिएको जानकारी दिनुभयो ।लोककल्याणकारी विज्ञापनलाई समेत प्रभावकारी ढंगबाट वितरण गर्ने गरी संचार मन्त्रालय अगाडि बढेको उहाँले बताउनुभयो ।
पत्रकार महासङ्घका पूर्वअध्यक्ष एवं तालिमका सहजकर्ता धर्मेन्द्र झाले पत्रकारितालाई जनता र समाजसँग जोड्न आवश्यक रहेको बताउनुभयो ।
हालको नेपाली पत्रकारितालाई नेपाली समाज र जनतासँग जोड्न नसकिएको बताउँदै उहाँले मिडियाकर्मी र मिडिया जिम्मेबार बन्दै नयाँ जनशक्तिको खोज गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
महासङ्घ कास्की शाखाका अध्यक्ष विमला भण्डारीले आगामी माघ ४ गते सम्म सञ्चालन हुने तालिममा छापा तथा विद्युतिय सञ्चार माध्यमका ४० जना पत्रकार सहभागी रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारी, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सरिता तिमिल्सिना, महासङ्घ गण्डकीका महासचिव गोविन्द सुवेदी, नेपाल पत्रकार महासङ्घका पूर्वउपाध्यक्ष गंगाधर पराजुली, महासङ्घ कास्कीका निर्वतमान अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले पत्रकारितामा नयाँ जनशक्ति उत्पादनका लागि तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।