टाइगर कप भलिबल : डिफेण्डिङ च्याम्पियन गण्डकी बाहिरियो

हिमाली आवाज । टाइगर ग्रुफ अफ पोखराको आयोजनामा पोखरामा जारी ‘टाइगर कप आमन्त्रित खुला क्लब महिला तथा पुरुष भलिवल च्याम्पियनसिप’ अन्तर्गत आजको खेलमा पुरुषतर्फ साविक विजेता गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ ।

पोखरा रङ्गशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा यही पुस २६ गतेदेखी सञ्चालन भइरहेको प्रतियोगिता अन्तर्गत विभागी टोली नेपाल आर्मीले डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेशमाथि ३–१ को सेटमा जित निकालेको हो । गण्डकीलाई पराजित गरेसँगै आर्मीको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।
आर्मीले पहिलो सेट २५–१५ अङ्कले जित्दा दोस्रो सेट भने २०–२५ ले गुमाएको थियो । तेस्रो सेट २५–१५ अङ्कले आफ्नो पक्षमा पारेकामा प्र्रतिष्पर्धात्मक बनेको चौथो सेटमा आर्मीले २६–२४ अङ्कको जित निकाल्न सफल बन्यो । जितसँगै आर्मीको तीन खेलबाट अङ्क छ । गण्डकीको तीन खेलबाट तीन अङ्क मात्र भयो ।

यसैगरी पुरुषतर्फको अर्को खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले विभागीय नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनल यात्रालाई थप बलियो बनाएको छ । हेल्प नेपालले एपिएफ क्लबलाई २३–२५, २५–२०, २५–१५ र २५–१९ अङ्कले खेल आफ्नो पक्षमा पार्न सफल भयो । जितसँगै हेल्प नेपालको तीन खेलबाट सात अङ्क पुगेको छ । प्रतियोगितामा एपिएफको लगातर चौथो पराजय हो ।

यता महिला तर्फको एक खेल भने खेल जारी रहँदै अध्यारो भएपछि स्थगित गरिएको छ । न्यू डायमण्ड र विभागी टोलीबीचको खेलमा न्यू डायमण्ड २–१ सेटले अगाडी रहेको अवस्थामा खेल अवरुद्ध बनेको प्राविधिक संयोजक तहल सिँह मगरले बताउनुभयो ।यस्तै महिला तर्फको एक अर्को खेलमा भने आयोजक टाइगर ग्रुप विभागीय टोली नेपाल आर्मीसँग ३–१ सेटले पराजित भएको छ ।

आगामी माघ १ गते सम्म ‘राउण्ड रोविन लिग’को आधारमा सञ्चालन भएको प्रतियोगितामा महिला र पुरुष गरी १० टिमको सहभागिता छ ।
प्रतियोगिताको उपाधि विजेता महिला÷पुरुष टोलीले समान रु तीन÷तीन लाख, उपविजेता महिला÷पुरुष टिमलाई समान रु १ लाख ५० हजार, तृतीय हुने महिला÷पुरुष टिमलाई समान नगद रु ७५ हजार र सान्त्वना हुने महिला÷पुरुष टिमलाई नगद रु ३५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

यसै गरी महिला तथा पुरुष तर्फ उत्ृकष्ट एक–एक खेलाडीलाई समान रु २५÷२५ हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।यसैगरी उत्कृष्ट पाँच विद्याका खेलाडीहरुलाई जनही रु १०÷१० हजार सहित र ट्रफीद्वारा सम्मान गरिने टाइगर ग्रुप पोखराका अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो ।

Comments
Loading...