कास्कीमा ट्राफिक प्रहरीले पुनः सुरु गर्यो ‘तपाईको मास्क खोई’अभियान

हिमाली आवाज । कोरोना भाइरस कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि ट्राफिक प्रहरीले पुनः तपाईको मास्क खोई अभियान सञ्चालन सुरु गरेको छ ।

गण्डकी प्रदेशको राजधानी सहर समेत रहेको पोखरा र यस आसपासमा पछिल्ला दिनमा दैनिक कोरोना सङ्क्रमित बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सो अभियानलाई जिल्लामा निरन्तरता दिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मास्क अभियानसँगै सहरी तथा राजमार्गहरुमा स्वास्थ्य मापदण्ड र चेकजाँचलाई कडाई गरिएको छ ।
कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक अमृत बस्नेतले ट्राफिक प्रहरीले स्वास्थ्य मापदण्ड पूरा नगरी सवारी चलाउने चालक तथा सवारी साधन समेतलाई नियन्त्रणमा लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“कोरोनाको बढ्दो जोखिम रोक्न मास्क अभियानलाई निरन्तरता दिएका छौँ । यसका साथै मास्क नलगाई सार्वजनिक तथा निजी सवारी साधनमा यात्रा गर्नेहरुलाई मास्क लगाउन र सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना कडाईका साथ लागू गरिएको छ ।”
प्रहरीले सिट क्षमता भन्दा बढी यात्रु बोक्ने, सार्वजनिक सवारीमा सवार गर्दा तथा सार्वजनिक सेवा लिन आउदा कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड नलिने सेवाग्राही समेतलाई कारबाही सुरु गरिएको जनाएको छ ।

स्वास्थ्य निर्देशनालयको निर्देशन बमोजिम मास्क, सेनिटाईजरको प्रयोग, भौतिक दूरी कायम लगायतका विषयमा चेकजाँच गरेको कास्की ट्रफिक प्रहरीले पछिल्ला दुई दिनमा एक हजार ७५५ थान मास्क निःशुल्क विरतण गरेको जनाएको छ ।

यसैगरी दुई हजार २० प्रति स्वास्थ्य सम्बन्धी जनचेतनामूलक पर्चा समेत वितरण गरिएको जनाइएको छ । प्रहरीले स्वास्थ्य मापदण्ड उल्लङ्घन गरी यात्रु ओसारपसार गर्ने २२५ सार्वजनिक सवारी साधन र १४९ जना यात्रु लाई समेत कारबाही गरिएको जनाएको छ ।ट्राफिक प्रहरीले जिल्लाका विभिन्न २९ स्थानमा चेकपोष्ट स्थापना गरी २४ घण्टानै सवारी चेकजाँच सुरु गरिएको जनाएको छ ।

Comments
Loading...