पोखरामा कृषकले मनाए बाख्रा दिवस

हिमाली आवाज । व्यावसायिक बाख्रा पालक कृषकहरुले पोखरामा एक कार्यक्रम आयोजना गरी बा्रखा दिवस मनाएका छन् ।
नेपाल व्यावसायिक बाख्रा पलान महासंघ गण्डकीको आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले कृषकले राज्यबाट उचित सुविधा र सहयोग प्राप्त गर्न नसकेको गुनासो गरे ।

कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष प्रेमसागर पौडेलले राज्यले कृषकको कामको संवेदनशिलता बुझन् नसकेको र राज्य प्रणालीले कृषकलाई चिन्न नसकेको गुनासो गर्नुभयो । उहाँले सरकारले अनुदानका लागि बनाएको मापदण्ड कृषकले पूरा गर्न नसक्ने खालको रहेको भन्दै बिचौलिया र झोले कृषकले मात्र त्यसबाट फाइदा लिएको पौडेलको भनाई छ ।

महासंघ गण्डकीका संयोजक धन श्रीसले गण्डकी प्रदेशको कृषिमन्त्रालय र पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयले आफूहरुलाई उपेक्षा गरेको गुनासो गर्नुभयो । उहाँले कृषकले बोलाएका कार्यक्रममा जिम्मेवार निकाय अनुपस्थित हुने गरेको जिकिर गर्दै बाख्रा पालनमा भविष्य खोज्नेहरुलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अधिकृत सहदेव पौडेल, महासंघका लेखा संयोजक तानाराथ पोखरेल लगायतले व्यावसायिक बाख्रा पालनका समस्या र सरकारको सहयोगका बारेमा भनाई राख्नुभयो ।

नेपाल व्यावसायिक बाख्रा पालन महासंघको स्थापना भएका दिनलाई बाख्रा व्यवसायीले दिवसका रुपमा मनाउने गरेको बताइन्छ । केही सातामै महासंघको गण्डकी अधिवेशनबाट नेतृत्व चयन गरिने सो संस्थाले जानकारी दिएको छ ।

Comments
Loading...