नेलम्बोद्धारा पोखराको सङ्क्रामक अस्पताललाई चारजना स्वास्थ्यकर्मी सहयोग

हिमाली आवाज । स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको नेलम्बो नेपाल पोखराले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढ्दै जादाँ बिरामीको उपचारमा सहयोगका लागि अस्पताललाई जनशक्ति उपलव्ध गराएको छ ।

गण्डकी प्रदेश सरकारले पोखरामा स्थापना गरेको सङ्क्रामक तथा सरुवा रोग अस्पताललाई नेलम्बोले चार जना स्वास्थ्यकर्मी उपलव्ध गराएको हो । सो अस्पतालमा हाल कोरोनाका बिरामीको उपचार हुँदै आएको छ ।

नेलम्बोले जनशक्ति उपलव्ध गराउने सम्बन्धमा आज नेलम्बोका अध्यक्ष एकदेव देवकोटा र अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनबीच सम्झौता सम्पन्न भएको छ ।

नयाँ भेरियन्ट सहितको तेस्रो लहरले अधिकतम मानिसहरुका साथै स्वास्थ्यकर्मी समेत सङ्क्रमित भएकाले स्टाफ नर्स र रेडियो ग्राफर एक÷एक जना तथा दुई जना ल्याब टेक्निसियन अस्पताललाई उपलव्ध गराइएको नेलम्बोका अध्यक्ष एकदेव देवकोटाले बताउनुभयो । उहाँका अनुसार छ महिनाका लागि अस्पताललाई उपलव्ध गराइने जनशक्ति भर्ना गरिएको छ ।

उहाँले भन्नुभयो,“कोरोनासँग जुध्नका लागि हामीले अस्पताललाई उपलव्ध गराउने जनशक्ति आफैँले भर्ना गरेका छौँ । उहाँहरुलाई अस्पतालमा सेवाका लागि पठाउने छौँ ।” छ महिनाका लागि अस्पतालमा स्वास्थ्यकर्मी उपलव्ध गराएबापत रु सात लाख खर्च हुने बताइन्छ ।

अध्यक्ष देवकोटाले आगामी दिनमा पनि नेलम्बो नेपालले कोभिड–१९ आइसोलेसन वार्डहरु स्थापना गरेका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु आवश्यकता र संस्थाको क्षमता अनुसार प्रदान गरिने जानकारी दिनुभयो ।

यसैगरी अस्पताललाई सो संस्थाले डिस्पोजिवल मास्क ५०० पिस, के.एन ९५ मास्क ५०० पिस, सेनिटाइजर २० लिटर, पल्स अक्सिमिटर १० पिस, डिस्पोजिवल पञ्जा १० प्याकेट, पिपिइ १० पिस, स्प्रे बोतल १० पिस, व्याट्री १० जोर, कोभिड १९ सचेतना व्यानर दुई पिस सहयोग समेत गरिएको नेलम्बोका अप्रेसन कोअर्डिनेटर विदित शाहले जानकारी दिनुभयो ।

नेलम्बोले नेपालमा कोभिड–१९ को पहिलो र दोस्रो लहरमा स्वास्थ्य सुरक्षाका सामग्रीहरु स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, कास्की जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालयहरु, स्थानीय तह, विभिन्न पालिकाका वडाहरु र स्वास्थ्य चौकीहरु विभिन्न उपलव्ध गराएको थियो ।
यसैगरी संस्थाले समस्यामा परेका अपाङ्ग तथा विपन्न परिवारलाई खाद्यान्न लगायतका राहत सामग्रीहरु हस्तान्तरण गरेको छ ।

Comments
Loading...