आहा ! रारा गोल्डकप फुटबल सुरु, एपिएफको विजयी सुरुआत

हिमाली आवाज । एपिएफ फुटबल क्लब आहा रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आजदेखी पोखरामा सुरु भएको मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा गोल्ड कप’ फुटबल प्रतियोगितामा आयोजक सहारा फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । एपिएफले खेलको पहिलो तथा दोस्रो हाफमा एक÷एक गोल गर्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो ।

खेलको १४ औँ मिनेटमा एपिएफका आभास लामिछानेले गोल गर्दै खेलमा अग्रता बनाउनुभयो । नविन लामाले पेनाल्टी क्षेत्रभित्र उपलव्ध गराएको बललाई दोस्रो बार च्याप्दै लामिछानेले हानेको प्रहार गोलमा परिणत भएको थियो ।

खेलको ६० औँ मिनेटमा प्रदीप लामाले गोल गर्दै अग्रता दोब्बर बनाउनुभयो । रबि तामाङको प्रहार विपक्षी खेलाडीले ‘डिबक्स’भित्र क्लियर गर्न नसकेको अवस्थामा लामाले बललाई पोष्टको दिशा दिनुभयो ।

‘ए डिभिजन’ क्लब सातदोवाटोका अधिकाँस खेलाडी सहित मैदान ओर्लिएको आयोजक सहाराले खेलमा गोलका अवसर सिर्जना गर्न नसक्दा पहिलो खेलमै पराजय बेर्होन बाध्य बन्यो ।

सहारालाई पराजित गरेको एपिएफले अब क्वाटरफाइनलमा अमेरिकाको बीवाईएससी मिनेसोटाविरुद्ध खेल्नेछ । खेलमा एपिएफका नविन लामा ‘प्लेयर अफ दी म्याच’ घोषित हुँदै नगद रु आठ हजार र ट्रफी पुरस्कार प्राप्त गर्नुभयो ।

‘खेलकुद विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने उद्धेश्यका साथ सहारा क्लब पोखराद्धारा आयोजित २० औँ संस्करणको प्रतियोगितामा नेपालका ए डिभिजनका क्लबहरु, आयोजक सहारा र एक विदेशी सहित १० टोलीको सहभागिता रहेको छ ।

आगामी माघ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु १० लाख एक हजार र उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट पाँच विधाका खेलाडीहरुलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने बताइन्छ ।

Comments
Loading...