पुलिसलाई हराउँदै मनाङ आहा ! रारा गोल्डकपको सेमिफाइनलमा

हिमाली आवाज । मनाङ मस्र्याङदी क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा गोल्ड कप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशाला स्थित फुटबल रङ्गशालामा आज सम्पन्न दोस्रो क्वारटरफाइनलको खेलमा मनाङले चिरपरिचित प्रतिस्पर्धी विभागीय नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै २० औँ संस्करणको प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भयो ।
मनाङले दुबै गोल दोस्रो हाफमा गर्न सफल भयो । मनाङ र पुलिस दुबै आहा राराका सफल क्लब हुन् । दुबैले समान छ÷छ पटक उपाधि जितेका छन् ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएकामा खेलको ६४ औँ मिनेटमा मनाङले रुपेश केसीको गोलमार्फत खेलमा अग्रता बनायो । पुलिसका रक्षापङ्क्तिका खेलाडी अजित भण्डारीले डिबक्सभित्र फुत्काएको बल अफिज ओलावाले नियन्त्रणमा लिँदै उपलव्ध गराएको पासलाई सदुपयोग गर्दै केसीले गोल गर्नुभयो ।

खेलको नियमित समय सकिन तीन मिनेट बाँकी रहँदा मनाङले ८७ औँ मिनेटमा अग्रता दोब्बर बनायो । खेलको ‘म्यान अफ दी म्याच’ घोषित ओलावाले मैदानको मध्यभाग नजिकबाट एक्लै बल अघि बढाउँदै मनाङका दुई डिफेण्डर र गोल किपर सञ्जित श्रेष्ठलाई छक्काएर गोल गर्न सफल हुनुभएको थियो ।

मनाङसँगको खेलमा पुलिसले गोलका अवसर सिर्जना गर्न सकेको थिएन । पुलिसले प्रिक्वाटरफाइनलको खेलमा हिमालयन शेर्पा क्लबलाई सडन डेथमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएकामा मनाङले सिधै क्वाटरफाइनलमा खेलेको हो ।

खेलपछिको पत्रकार सम्मेलनमा मनाङका प्रशिक्षक फुजा टोपेले दोस्रो हाफमा राम्रो खेलेर जित हासिल भएको बताउनुभयो । खेलाडीको प्रदर्शनप्रति आफू सन्तुष्ट रहेको बताउँदै आगामी खेलमा अझ मेहनत गरेर खेल्ने उहाँले उल्लेख गर्नुभयो ।

पुलिसका प्रशिक्षक अनन्त थापाले डिफेन्सको गल्तीका कारण खेलमा पराजय भोग्नुपरेको टिप्पणी गर्नुभयो । विदेशी खेलाडी सहभागी बलियो टोली मनाङसँग पहिलो हाफमा राम्रो ‘फाइट’ गरेपनि दोस्रो हाफमा प्रदर्शन राम्रो नभएको उहाँले स्वीकार गर्नुभयो ।

प्रतियोगिता अन्तर्गत सोमबार साविक विजेता सङ्कटा फुटबल क्लब र शहीद स्मारक ए डिभिजन लिगको शीर्षस्थानको मच्छिन्द्र फुटबल क्लबकाबीचमा खेल हुने आयोजक सहारा क्लबले जनाएको छ ।

यही माघ ६ गतेदेखी सुरु भएर आगामी माघ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु १० लाख एक हजार र उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट पाँच विधाका खेलाडीहरुलाई जनही रु २५ हजारका दरले पुरस्कार पाउनेछन् ।

Comments
Loading...