हिमाली आवाज । साविक विजेता सङ्कटा फुटबल क्लबलाई फराकिलो गोल अन्तरले हराउँदै मछिन्द्र फुटबल क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा गोल्ड कप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सहारा क्लब पोखराको आयोजनामा यही माघ ६ गतेदेखी पोखरा रङ्गशालामा जारी प्रतियोगिताको आज सम्पन्न तेस्रो क्वाटरफाइनलको खेलमा शहीद स्मारक ए डिभिजन लिगको डिफेण्डिङ च्याम्पियन मछिन्द्रले मेसुके ओलुमोउको उत्कृष्ट दुई गोलको मद्धतमा आहा ! राराको डिफेण्डिङ च्याम्पियन सङ्कटालाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
टोलीका महत्वपूर्ण आधा दर्जन खेलाडी राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा सहभागी भएपछि मछिन्द्रले दोस्रो रोजाइका खेलाडी लिएर मैदान उत्रिएको थियो ।खेलमा मछिन्द्रले पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल गर्न सफल भयो । सङ्कटाले दोस्रो हाफमा एक गोल फर्कायो ।
सुरुआतमा डिफेण्डिङ च्याम्पियन सङ्कटाले मछिन्द्रलाई दबाबमा राखेपनि गोल गर्न सकेको थिएन । खेलको १३ औँ मिनेटमा मछिन्द्रले उत्सव राइको गोलमार्फत खेलमा अग्रता बनायो । पेनाल्टी क्षेत्र नजिकबाट राइको शक्तिशाली प्रहार सिधै गोलमा परिणत भएको थियो ।
प्हिलो हाफमा १–० को अग्रता बनाएको मछिन्द्रले खेलको ४७ औँ मिनेटमा अग्रता दोब्बर बनायो । अभिशेक रिजालको क्रसपासमा पेनाल्टी क्षेत्रमा अनमार्क रहनुभएका मेसुकेले दुई रक्षापङ्क्तिका खेलाडी र गोलकिपरलाई छक्काएर गोल गर्न सफल हुनुभएको थियो ।वैकल्पिक खेलाडीका रुपमा दोस्रो हाफमा मैदान गर्नुभएका सङ्कटाका गणेश हमालले खेलको ६३ औँ मिनेटमा कर्नरमा आएको बललाई हेडमार्फत गोल गर्दै सङ्कटालाई खेलमा फर्काउने प्रयास गर्नुभएपनि त्यो सफल हुन सकेन ।

मछिन्द्रका अभिषेक गुरुङले ८४ औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता बढाउनुभयो । फ्रिकिकमा गोलकिपरबाट रिवाउण्ड बललाई नियन्त्रणमा लिँदै उहाँले गोल गर्न सफल हुनुभएको थियो ।त्यसैगरी खेलको ‘म्यान अफ दी म्याच’ घोषित मछिन्द्रका मेसुकेले ८६ औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै अन्तर फराकिलो बनाउनुभयो । नाथानिल जुडे गार्सियाको पासमा मेसुकेले गोल गर्नुभएको थियो ।
मछिन्द्र राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा यथावत छ । मछिन्द्रले एएफसी एशियन कपमा नेपालको प्रतिनिधित्व गर्दै छनोट भएको छ । प्रतियोगितामा अब मछिन्द्रले फाइनल प्रवेशका लागि बुधबार सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबसँग खेल्नेछ ।
प्रतियोगिता अन्तर्गत चौथो तथा अन्तिम क्वाटरफाइनलको खेलमा मङ्गलबार थ्रीस्टार फुटबल क्लब र नेपाली सेनाको विभागीय त्रिभुवन आर्मी फुटबल क्लबकाबीचमा खेल हुने आयोजकले जनाएको छ ।
आगामी माघ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु १० लाख एक हजार र उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्ने आयोजक सहारा क्लबका अध्यक्ष हरिाम गुरुङले जानकारी दिनुभयो ।
यसैगरी प्रतियोगिताको उत्कृष्ट पाँच विधाका खेलाडीहरुलाई जनही रु २५ हजारका दरले पुरस्कार पाउनेछन् । ब