गण्डकीमा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा, कोरोना संक्रमितले पनि मत हाल्न पाउने

हिमाली आवाज । राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ ।

प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार भोली माघ १२ गतेका लागि तय भएको मतदानका लागि कर्मचारी व्यवस्थापन, सुरक्षा प्रवन्ध, मतपत्र र मतदान केन्द्र व्यवस्थापन लगायतका सम्पूर्ण तयारी पूरा भएको छ । रत्नचोकस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा बुधबार विहान ९ः०० बजेदेखी दिउँसो ३ः०० बजेसम्म मतदानको समय तोकिएको छ ।

कार्यालय प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत हुमनाथ पराजुलीले मतदान सकिएपछि मतगणना सुरु हुने र भोलीनै नतिजा सार्वजनिक गरिने बताउनुभयो । उहाँले भन्नुभयो,“मतदानका लागि आवश्यक सम्पूर्ण तयारीको काम सकिएको छ । मतदान सम्पन्न भएपछि गणना सुरु गरेर भोलीनै अन्तिम परिणाम घोषणा गर्नेछौँ ।”

मतदानमा निर्वाचनमा कार्यालयका कर्मचारी बाहेक २० जना कर्मचारी परिचालित हुने बताइन्छ । त्यसैगरी सुरक्षाका लागि ५० जना जनशक्ति परिचालित हुनेछ ।मतदानका लागि प्रदेशसभा र स्थानीय तहको गरी दुई मतदान केन्द्र तोकिएको छ । यसैगरी कोरोना सङ्क्रमित मतदाताका लागि छुट्टै बुथको व्यवस्था गरी मतदानको प्रवन्ध मिलाइएको निर्वाचन अधिकृत पराजुलीले बताउनुभयो ।

राष्ट्रियसभा निर्वाचनमा गण्डकीका तीन सिटको लागि सत्ता गठबन्धनबाट तीन र प्रतिपक्ष दल नेकपा एमालेबाट तीन गरी छ जना उम्मेदवार हुनुहुन्छ ।सत्ता गठबन्धनबाट अन्य समूहमा माओवादी केन्द्रका सुरेश आलेमगर, महिलातर्फ नेपाली काँग्रेसका कमला पन्त र दलित तर्फ माओवादी केन्द्रका भुवन सुनार उम्मेदवार रहनुभएको छ ।

नेकपा एमालेले अन्यतर्फ पुण्यप्रसाद पौडेल, दलिततर्फ अर्जुनकुमार सुनाम र महिलातर्फ लीला पोखरेल(थनेत) लाई उम्मेदवार बनाएको छ ।

Comments
Loading...