हिमाली आवाज । गण्डकी प्रदेशसभा सदस्य एवं नेपाली काँग्रेस संसदीय दलका प्रवक्ता प्रकाशचन्द्र दवाडीले आफूले प्राप्त गरेको तलवभत्ता लगायतको सरकारी सुविधा बापतको पारिश्रमिक सामाजिक कार्यमा खर्च गर्नुभएको छ ।
विसं २०७४ मा नेपाली काँग्रेस पार्टीका तर्फबाट गोरखा निर्वाचन क्षेत्र न २ को प्रदेशसभा निर्वाचन क्षेत्र नं (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि सरकारबाट प्राप्त हुने सबै सुविधा बापतको रकम सामाजिक क्षेत्रमा खर्च गर्नुभएको छ ।
प्रदेशसभा सदस्य दवाडीले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी गत वर्ष पुसदेखी हालसम्म प्रदेशसभा सदस्यलाई सरकारबाट तलबभत्ता बापत प्राप्त भएको रु सात लाख ८२ हजार ३५६ र व्यक्तिगत रु पाँच लाख ८१ हजार ४३५ गरी कूल रु १३ लाख ६३ हजार ८०० गोरखाका विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरुलाई औषधी खरिद र बिरामीको उपचार सहायतामा खर्च गरेको बताउनुभयो ।
उहाँले यसवर्ष विशेषगरी कोभिड नियन्त्रणका लागि गाउँका स्वास्थ्य चौकीहरुमा स्वास्थ्य उपकरण र औषधी खरीद र सहयोगमा सुविधाको रकम खर्च भएको बताउनुभयो ।कोरोनाका समयमा आफैँले औषधी किनेर स्वास्थ्यचौकीलाई वितरण गर्नेदेखी लकडाउनका समयमा बृद्धबृद्धाहरुलाई आवश्यक पर्ने औषधी बोकेर घरघरमा पुगेर वितरण गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो,“नागरिकको स्वास्थ्यको ज्ञारेण्टी सरकारको मुख्य दायित्व हो । यससँगै सांसद र सचेत नागरिकहरुको पनि उत्तिकै भूमिका आवश्यक छ भनेर सहयोग गरेको हुँ ।” प्रदेशसभा सदस्य दवाडीले विभिन्न बिरामीको उपचारका लागि अस्पतालमै पुगेर समेत सहयोग गर्नुभएको थियो ।
प्रदेशसभामा निर्वाचित भएलगत्तै सरकारी सुविधा बापतको रकम निर्वाचन क्षेत्रका जनताको हित र सामाजिक कार्यमा खर्चिने प्रतिवद्धता उहाँले जनाउनुभएको थियो । उहाँले हरेक वर्ष कार्यक्रम गरेर आफ्नो खर्च सार्वजनिक गर्दै आउनुभएको छ ।यस वर्ष प्रदेशसभा सदस्य दवाडीले विभिन्न मितिमा गोरखाका विभिन्न सङ्घ संस्था तथा व्यक्ति, स्वास्थ्यचौकी गरी ३१ संस्थालाई सहयोग गर्नुभएको छ ।
कोरोना औषधी खरीद, विद्यालयमा शैक्षिक सामग्री खरीद, क्यान्सर रोगका बिरामीको उपचार, अक्षयकोष तथा छात्रवृत्ति, आमा समूह भवन, आमा समूहलाई फर्निचर खरीद, किसानको घर निर्माण लगायतमा न्यूनतम रु पाँच हजारदेखी अधिकतम रु तीन लाख २० हजार सहयोग गर्नुभएको छ ।


