हिमाली आवाज । राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका तीन सिटमा सत्ता गठबन्धनका म्मेदवार विजयी भएका छन् ।
प्रदेश निर्वाचन कार्यालय पोखराको परिसरमा आज विहान ९ बजेदेखी ३ बजेसम्म सञ्चालन भएको मतदानपछि साँझ सम्पन्न मतगणनामा गठबन्धनका उम्मेदवार तीनै पदमा विजयी भएका हुन् ।
सत्ता गठबन्धनबाट अन्य समूहमा माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएका सुरेश कुमार आलेमगर तीन हजार ९६ मत प्राप्त गरी विजयी हुनुभयो ।
उहाँका प्रतिस्पर्धा नेकपा एमालेका पुण्यप्रसाद पौडेलले दुई हजार ६९४ मत प्राप्त गर्नुभएको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।
महिलातर्फ नेपाली काँग्रेसका कमला पन्तले तीन हजार ८४ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लीला पोखरेल(थनेत)ले दुई हजार ७२४ मत प्राप्त गर्नुभयो ।

यसैगरी दलित तर्फ माओवादी केन्द्रका भुवन बहादुर सुनारले तीन हजार ४८ मत प्राप्त गरी विजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार सुनामले दुई हजार ७२४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिनुभयो ।
राष्ट्रिय सभाको निर्वाचनमा गण्डकीमा प्रदेशसभाका सदस्य ५९ र स्थानीय तहका प्रमुख÷उपप्रमुख १७० गरी २२९ मतदाता रहेका थिए । प्रदेशसभाका ५९ र स्थानीय तहका १६८ जनाले मतदान गर्नुभएको थियो । प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका प्रमुख÷उपप्रमुखको १८ मतभार रहेको थियो ।
प्रदेसभाको तीनै समूहमा एक मत र स्थानीय तहतर्फ दलितमा दुई र अन्य अन्यतर्फ एक मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । मतदानका लागि प्रदेशसभा र स्थानीय तहको गरी दुई मतदान केन्द्र रहेको थियो ।विजयी उम्मेदवारहरुलाई भोली निर्वाचित प्रमाणपत्र प्रदान गरिने निर्वाचिन अधिकृत भट्टराईले जानकारी दिनुभयो ।