एपीएफ फुटबल क्लब १४ वर्षपछि आहा ! रारा गोल्डकपको फाइनलमा 

–कृष्ण दवाडी

हिमाली आवाज ।  सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब ‘आहा ! रारा गोल्ड कप ’फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा जारी २० औँ संस्करणको सो प्रतियोगिता अन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा शहीद स्मारक ए डिभिजन लिगको डिफेण्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै विभागीय टोली एपीएफ उपाधि नजिक पुगेको हो ।

पहिलो हाफको खेलमा दुबै टोलीबाट समान एक÷एक गोल भएकामा दोस्रो हाफमा एपीएफले दुई गोल गर्न सफल भयो । दोस्रो हाफको २० मिनेट मच्छिन्द्र १० खेलाडीमा सीमित भएर खेलेको थियो ।

पहिलो हाफको २५ औँ मिनेटमा एपीएफका सनिश श्रेष्ठले मणि लामाको फ्रिकिकमा हेडमार्फत गोल गर्दै टोलीको अग्रता बनाउनुभयो । मच्छिन्द्रले पनि खेलको ४० औँ मिनेटमा ओमोलाजा करिमको हेडिङ गोलमार्फत खेल बराबरी गर्न सफल भयो । कप्तान रञ्जित धिमालको फ्रिकिकमा डिफेण्डर करिमले गोल गर्नुभएको थियो ।

एपीएफले खेलको ६८ औँ मिनेटमा खेलको ‘म्यान अफ दी म्याच’ घोषित प्रदीप लामाको गोलबाट खेलमा पुनःअग्रता बनायो । खेलको ७० औँ मिनेटमा मच्छिन्द्रका गोलकर्ता ओमोलाजा दोहोरो पँहेलो कार्डपछि रातो कार्ड खाँदै मैदान बाहिरिएपछि मच्छिन्द्र १० खेलाडीमा सीमित भएको भएको थियो ।

खेलको पाँच मिनेटका इन्ज्युरी समयको अन्तिम मिनेटमा एपीएफका कप्तान नविन लामाले गोल गर्दै शहीद स्मारक ए डिभिजन लिगको लिग लिडर मच्छिन्द्रसँगको गोल अन्तर फराकिलो बनाउनुभयो ।  एपीएफ विसं २०६४ को छैटौँ संस्करणमा पहिलो पटक आहा ! राराको फाइनल पुगेको थियो । फाइनलमा एपीएफ नेपाल पुलिस क्लबसँग २–० गोल अन्तरले पराजित भएको थियो ।

आहा राराको इतिहासमा दोस्रो पटक फाइनल पुगेको एपीएफले बिहीबार मनाङ मस्र्याङदी फुटबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग माघ १५ गते उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

खेलपछिको पत्रकार सम्मेलनमा एपीएफका प्रशिक्षक कुमार थापाले खेलाडीले मिहिनेत गरेर खेलेकाले फाइनल पुग्न सफल भएको र प्रदर्शनप्रति खुःशी व्यक्त गर्नुभयो । टोलीमा विदेशी खेलाडीको सहभागितापछि शहीद स्मारक लिगको तेस्रो चरणपछि हार बेर्होन नपरेकाले अब उपाधिका लागि खेल्ने बताउनुभयो ।

मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले लिग खेल्ने पहिलो रोजाइका छ खेलाडी टोलीमा नहुँदा खेल कठिन भएको बताउनुभयो । सङ्कटासँगको अघिल्लो खेलका टोलीका दुई महत्वपूर्ण खेलाडी घाइते भएको र १० खेलाडीमा सीमित हुनुपर्दा समेत हार भएको उहाँको भनाई छ ।

प्रतियोगिताको विजेताले रु १० लाख एक हजार र उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्ने आयोजक सहारा क्लबका अध्यक्ष हरिराम गुरुङले जानकारी दिनुभयो ।यसैगरी प्रतियोगिताको उत्कृष्ट पाँच विधाका खेलाडीहरुलाई जनही रु २५ हजारका दरले पुरस्कार पाउनेछन् ।

Comments
Loading...