आहा ! रारा गोल्डकपको इतिहास रच्ने दाउमा आज मनाङ र एपिएफ

–कृष्ण दवाडी
हिमाली आवाज ।  मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा ! राराको दुई दशकको इतिहासमा मनाङ मस्र्याङदी क्लबले छैटौँ र सातौँ संस्करण बाहेकका सबै संस्करणमा सहभागिता जनाएको छ ।

‘क्याराभान गोल्डकप’ सहित ११ पटक फाइनल पुगेको मनाङले छ पटक ट्रफी उचालेको छ । बिसौँ संस्करणको जारी प्रतियोगिताको शनिबार हुने फाइनल खेलमा मनाङ सातौँ पटक उपाधिको खोजीमा हुनेछ ।

मनाङले यसपटक फाइनलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई नयाँ प्रतिस्पर्धी पाएको छ । एपिएफ आहा ! राराको इतिहासमा दोस्रो पटक फाइनल खेल्दैछ ।

विसं २०६४ मा छैटौँ संस्करणमा पहिलो पटक फाइनल पुगेको एपिएफले अहिलेसम्म उपाधि उचाल्न सकेको छैन । नेपाल पुलिस क्लबसँग २–० ले पराजित भएपछि एपिएफको त्यति बेला उपाधि जित्ने सपना साकार हुन सकेन ।आहा ! रारामा यसपटक १४ वर्षपछि फाइनल पुगेको एपिएफ उपाधिको भोको छ । शनिबार पोखरा रङ्गशालाको मैदानमा उत्रिँदा दुबै टोलीलाई इतिहास रच्ने अवसर प्राप्त भएको छ ।

नेपाल पुलिस क्लबसँग समान छ÷छ पटक उपाधि जितेको मनाङलाई २० औँ संस्करणको फाइनल जितेर सर्वाधिक ट्रफी उचाल्ने अवसर छ । एपिएफलाई पनि पहिलो पटक पोखराको मैदानमा उपाधि चुम्ने सुन्दर मौका जुरेको छ ।

मनाङले विसं २०६० को दोस्रो, विसं २०६१ मा तेस्रो, २०६८ को दशौँ, विसं २०७२ मा चौधौँ, विसं २०७३ को पन्धौँ र विसं २०७६ को १८ औँ संस्करणको उपाधि जितेको छ ।एपिएफ जारी प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारालाई २–० ले निरास बनाउँदै अघि बढेको थियो ।

क्वाटरफाइनलमा पाहुना टोली अमेरिकाको विवाइएससीको चूनौती ३–१ गोल अन्तरले पन्छाउँदै सेमिफाइनलमा शहीद स्मारक ए डिभिजन लिगको डिफेण्डिङ च्याम्पियन र यसवर्षको लिग लिडर मछिन्द्रलाई ३–१ गोललेनै निराश बनाउँदै फाइनलको यात्रा तय गर्न सफल भएको हो ।
मनाङले भने क्वाटरफाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोलले पराजित गर्दैै सेमिफाइनलमा स्थान बनाएकामा बिहीबार त्रिभुवन आर्मी क्लबमाथि टाइब्रेकरमा ४–३ गोलले विजयी हुँदा फाइनलमा एपिएफलाई पहिलो पटक प्रतिस्पर्धी पाएको हो ।

आहा राराको अनुभवि टोली मनाङ र बलिया टोलीलाई पाखा लगाउँदै दोस्रो पटक फाइनल पुगेका दुबै टोलीका प्रशिक्षक र टिम कप्तान फाइनलका लागि उत्साहित देखिएका छन् । दुबै टोलीका प्रशिक्षक र कप्तान यस वर्षको मोफसलको पहिलो प्रतियोगितामा उपाधि चुम्न दृढ देखिनुभएको छ ।फाइनल खेलअघि आज आयोजना गरिएको ‘फ्रिम्याच कन्फ्रेन्स’मा टोली टोलीका प्रशिक्षकले उपाधि उचाल्ने दावी गर्नुभयो ।

मनाङका प्रशिक्षक फुजा टोपेले विपक्षी टोलीको प्रदर्शन राम्रो बन्दै गएको बताउँदै आफूहरु उपाधिका लागि खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो,“फाइनल पुग्दा हामी खुःशी छौँ । अब उपाधि जितेर टिम र समर्थकलाई थप खुःशी दिन चाहन्छौँ ।”प्रशिक्षक टोपेले फाइनल खेलको रणनीति सार्वजनिक गर्न चाहनुभएन ।

एपिएफका प्रशिक्षक कुमार थापाले मनाङ बलियो टोली भएपनि आफूहरु उपाधि जित्दै इतिहास बनाउने गरी फाइनल खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो,“कोरोना महामारीका बीचमा पनि भव्य प्रतियोगिता आयोजना गरेकामा आयोजकलाई धन्यवाद दिन चाहन्छौँ । यस अवसरको उपयोग गर्दै उपाधि चुमेर रच्ने योजनामा छौँ ।”

मनाङका टिम कप्तान विमल रानाले दवाव रहित खेल्दै उपाधि जित्ने गरी खेल्ने बताउनुभयो । टोलीका महत्वपूर्ण खेलाडी राष्ट्रिय टोलीमा रहेकाले पनि नयाँ र पुराना खेलाडीबीच टिम सेट अघिल्ला खेलमा कठिन भएपनि फाइनलमा राम्रो खेल्ने उहाँले बताउनुभयो ।
एपिएफका कप्तान नविन लामाले टोलीले हरेक खेल राम्रो गर्दै गएकाले फाइनलमा पनि यसअघिका गल्ती सुधार गर्दै राम्रो प्रदर्शन गर्ने उल्लेख गर्नुभयो ।
एपिएफका चार खेलाडीले फाइनल गुमाउने
फाइनलमा स्थान बनाएको एपिएफका महत्वपूर्ण चार खेलाडीले फाइनल खेल गुमाउने भएका छन् ।टोलीका चार खेलाडीले यसअघिका दुई खेलमा पहेँलो कार्ड पाएकाले फाइनल गुमाउने आयोजकले जनाएको छ ।

एपिएफका आवास लामिछाने, प्रदीप लामा, अदमा डोम्बिया र सविन थापाले दोहोरो पँहेलो कार्डका फाइनल खेलका लागि प्रतिबन्धमा परेको म्याच कमिसनर गोकुल थापाले बताउनुभयो । सेमिफाइनलमा मच्छिन्द्रसँगको खेलमा एपिएफका चार खेलाडीले पहँेलो कार्ड पाएका थिए ।

एपिएफका प्रशिक्षक थापाले भने आयोजकको सो निर्णयप्रति असन्तुष्टि जनाउनुभयो । खेलाडी प्रतिवन्धमा परेको बारेमा जानकारी नपाएको तथा प्रतियोगिता निर्देशिकामा समेत फरक÷फरक खेलमा पाएको कार्डले अर्को खेल गुमाउने भन्नेमा उल्लेख नभएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो,“हाम्रा खेलाडी प्रतिबन्धमा परेको बारेमा केही जानकारी छैन । फरक खेलको कार्डले फाइनल गुमाउने भन्नेमा प्रतियोगिता निर्देशिकामा उल्लेख छैन । हाम्रो पुरानै सेट भोली मैदानमा उतार्ने छौँ ।”

यही माघ ६ गतेदेखी जारी प्रतियोगितामा विभिन्न १० टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिताको विजेताले रु १० लाख एक हजार र उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् ।यसैगरी उत्कृष्ट पाँच विधाका खेलाडीहरुलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजक सहाराले जनाएको छ ।

Comments
Loading...