नेल्टाका महासचिव सुरेश श्रेष्ठद्धारा कर्मचारी युनियन कास्कीको अध्यक्षमा उम्मेदवारी घोषणा

हिमाली आवाज । नेपाल निजामति कर्मचारी युनियन कास्कीका यही पुस २३ गते हुने जिल्ला अधिवेशनमा सुरेश कुमार श्रेष्ठले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

नेल्टाका केन्द्रीय अध्यक्ष एवं पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयमा अधिकृत पदमा कार्यरत श्रेष्ठले आगामी नेतृत्वका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।

कर्मचारी संघभित्र रुपान्तरण र पुस्तान्तरणसँगै युवा तथा सृजनशील जुझारु नेतृत्वका लागि आफ्नो उम्मेदवारी रहेको श्रेष्ठले हिमाली आवाजलाई जानकारी दिनुभयो । उम्मेदवारी घोषणा गर्नुभएका श्रेष्ठले प्रचार प्रसार समेत सुरु गर्नुभएको छ ।

उहाँले सबै युनियनकर्मीको आशा र भरोसा प्राप्त हुने विश्वास व्यक्त गर्दै अमूल्य मत प्रदान गरी विजयी गराउन आग्रह गर्नुभएको छ ।
श्रेष्ठले आफ्नो उमेदवारीको सम्बन्धमा १७ बुँदे प्रतिबद्धतासमेत जनाउनुभएको छ ।

सबल र सक्षक संगठन निर्माण एवं प्रजातान्त्रिक विचारमा आबद्ध संघसंस्था र पार्टीसंग राम्रो सम्बन्ध राख्न आफ्नो उमेदवारी रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,“कास्कीको सबै सरकारी कार्यालयहरुमा पुगेर कर्मचारीहरुको समस्या बुझ्ने छु । साथै कर्मचारीका समस्या समाधानमा योजनावद्ध हिसावले लाग्नेछ । ”

श्रेष्ठले ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर सरुवा–बढुवामा परेको पिरमार्काहरुलाई सरकार र सरोकारवाला निकायहरुमा जोडदार माग गर्ने र कर्मचारी युनियनमा लोकतान्त्रिक मूल्य र मान्यता स्थापित गर्ने प्रतिवद्धता जनाउनुभयो ।

Comments
Loading...