काठमाडौं।पार्टीको आठौँ राष्टिय महाधिवेशनबाट केन्द्रीय समिति निर्वाचित गरेको माओवादी केन्द्रले पार्टी पदाधिकारी चयन गर्नका लागि केन्द्रीय समिति बैठक आज बस्दै छ ।
आइतबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेसँगै आठौँ महाधिवेशन सकिएको हो । खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना केन्द्रीय सदस्यको नाम हलले ताली बजाएर अनुमोदन गरिएको थियो ।

माओवादी केन्द्रको आज बस्ने केन्द्रीय समिति बैठकले १५ पदाधिकारी र थप केन्द्रीय सदस्यको मनोनयन गर्नेछ । लामो समयदेखि नेतृत्व गर्दै आएका प्रचण्ड फेरि अध्यक्षमा चयन हुने निश्चित छ । वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षमा समस्या नभए पनि महासचिवमा वर्षमान पुन र जनार्दन शर्माको दाबी छ । पम्फा भुसाल र शक्तिबहादुर बस्नेतको पनि महासचिवमा दाबी छ ।
माओवादीले पदाधिकारीका लागि लामो छलफल भएकाले सर्वसम्मत रुपमा पदाधिकारी टुँगो लगाउने दावी गरेको छ । गत पुस ११ गतेदेखी राजधानीस्थित प्रज्ञा भवन कमलादीमा सुरु भएको महाधिवेशन आइतबार केन्द्रीय समिति निर्वाचित गर्दै सम्पन्न भएको छ । माओवादीले तीनै तहका निर्वाचनपछि विचार निर्माणका लागि पुनः महाधिवेशन गर्ने समेत जनाएको छ ।