हिमाली आवाज । प्रेस काउन्सिल नेपालको आयोजनामा पोखराका पत्रकारहरुलाई पत्रकार आचार संहिता जागरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ कास्की शाखाको समन्वयमा पत्रकार महासंघको सभाहलमा आज सम्पन्न कार्यक्रममा पत्रकार आचार संहिताका बारेमा जानकारी तथा छलफल गरिएको थियो । कार्यक्रममा पोखरामा ८० जना पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले प्रेसलाई नियन्त्रण गर्न नहुने बताउनुभयो ।उहाँले प्रेसलाई नियन्त्रण गर्न खोज्दा नागरिक अधिकार कुण्ठित हुने भएकाले स्वःनियमन आवश्यक रहेको बताउनुभयो ।

मन्त्री खड्काले पत्रकारले दिएको सूचनाले समाजमा ठूलो अर्थ राख्ने भएकाले सञ्चारकर्मी आफ्नो कर्ममा जिम्मेवार र परिपक्व हुनुपर्ने बताउनुभयो ।उहाँले भन्नुभयो,“पत्रकारितामा विश्वसनियता गुमाऔँ भने पेशाको सम्मान हुन सक्दैन । जबसम्म पत्रकारमा मनै प्रेस काउन्सिल हो भन्ने भावनाको विकास हुँदैन,तबसम्म पत्रकारिता मर्यादित हुँदैन।”
प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार आचार संहिताको पालनालाई सञ्चारकर्मीले ख्याल गर्नुपर्ने बताउनुभयो । समाज परिवर्तनका लागि सञ्चारकर्मीले राम्रो गरेपनि आचार संहिता पालना छैनौँ भन्ने प्रश्न अहिले उठेको उहाँले उल्लेख गर्नुभयो ।
स्वच्छ पत्रकारिताको नमूना पोखरा बन्नुपर्ने उहाँले बताउनुभयो । पत्रकार पनि जनप्रतिनिधि रहेको बताउँदै अध्यक्ष बस्नेतले भन्नुभयो,“जनताका विषय मुख्यत मिडियामार्फतनै आउने हो । यस हिसाबले सञ्चारकर्मी पनि जनप्रतिनिधि हुन् ।”
प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारीले आचार संहिता पालनाको वर्तमान अवस्था लगायतका बारेमा प्रस्तुती राख्नुभयो ।महासंघ कास्की शाखाका अध्यक्ष विमला भण्डारीले पछिल्लो समय पत्रकारिता क्षेत्रमा उठेको आचारसंहिता उल्लङ्घन विषयलाई न्यूनीकरण गर्ने उद्धेश्यले जागरण कार्यक्रम गरिएको बताउनुभयो ।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी, जय नारायण आचार्य, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापा, पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना,गण्डकी विश्वविद्यालयका परामर्शकर्ता डा. मेघनिधि भण्डारी, नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्षहरु कृष्ण प्रसाद बाँस्तोला, बद्रीविनोद प्रतिक, पूण्य पौडल लगायतले पत्रकार आचार संहितामा रहेर जिम्मेवार र मर्यादित पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभएको थियो ।