गण्डकीमा राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन र एमाले उम्मेदवारको मनोनयन दर्ता

हिमाली आवाज । राष्ट्रियसभा सदस्य निर्वाचन–२०७८ अन्तर्गत गण्डकी प्रदेशमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी(एमाले)का उम्मेदवारहरुले आज मनोनयन दर्ता गराएका छन् ।

पोखरा महानगरपालिका–७ पार्दीस्थित प्रदेश निर्वाचन कार्यालयमा गठबन्धनका तर्फबाट नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)बाट अन्य समूहमा तनहुँका सुरेश आलेमगर, महिलातर्फ नेपाली काँग्रेसका तर्फबाट गोर्खाका कमला पन्त र दलितर्फ माओवादीका गोर्खाका भुवन सुनारले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

यसैगरी नेकपा एमालेका तर्फबाट अन्यतर्फ कास्कीका पुण्यप्रसाद पौडेल, दलिततर्फ स्याङ्जाका अर्जुनकुमार सुनाम र महिलातर्फ नवलपरासीका लीला पोखरेल(थनेत)ले उम्मेदवारी दर्ता गराउनुभएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशमा तीन सिटका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन हुन लागेको हो । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज विहान ११ बजेदेखी ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको निर्वाचन कार्यतालिका रहेकामा एमालेका उम्मेदवारहरुले विहान ११ः०० बजे सत्ता गठबन्धनका उम्मेदवारले अपरान्ह २ः३० बजे उम्मेदवारी दर्ता गराएका थिए ।

सत्तारुढ गठबन्धनबीच राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय भए अनुसार माओवादीले गण्डकीमा दुई सिट पाएको भने नेपाली काँग्रेसले एक सिट  पाएको छ ।

Comments
Loading...