पोखरामा अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको तयारी पूरा

हिमाली आवाज ।  खेलकुद पर्यटनको सहर पोखरामा ‘एट–ए–साइड अन्तर्राष्ट्रिय भेट्रान्स’ फुटबल प्रतियोगिता हुने भएको छ ।‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’को नारा सहित बगर भाई खलक पोखराको आयोजनामा यही पुस २६ देखी माघ १ गतेसम्म ११ औँ संस्करणको सो प्रतियोगिता आयोजना गरिएको हो ।

चालिस वर्षदेखी देखी ६५ वर्ष उमेर समुहका पाका खेलाडीहरुको खेलबाट नयां पिढीलाई खेलकुदप्रति अभिरुची जगाई भविष्यमा  देशका लागि आवश्यक खेलाडी उत्पादन गर्ने लक्ष्य सहित प्रतियोगितालाई निरन्तरता दिइएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा बगर भाइ खलकका अध्इक्ष दिलबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा २६ टोलीको सहभागिता रहनेछ ।

प्रतियोगितामा काठमाडौं, बिरगञ्ज, हेटौडा, चितवन, वुटवल, वालिङ लगायत स्थानीय टिमहरुको सहभागिता हुनेछ । यसैगरी भारतको एक विदेशी टोलीलाई पनि प्रतियोगितामा सहभागी गराउने प्रयास भइरहेको बताइन्छ ।कोभिडका कारण पछिल्ला संस्करणहरुमा विदेशी टोलीको सहभागिताका लागि कठिनाइ भएको आयोजकको भनाई छ ।

प्रतियोगितामा उपाधि विजेता टोलीले रु एक लाख ५१ हजार १०१ सय ११ सहित रनिङ शिल्ड, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपाविजेताले नगद रु ७५ हजार ५५५ सहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैगरी प्रतियोगिताको उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफी सहित जनही नगद रु पाँच  हजार पुरस्कार उपलव्ध गराइने आयोजकले जनाएको छ ।प्रतियोगितामा सेमिफाइनलमा पुग्न सफल दुइ टिमलाई नगद रु १० हजार पुरस्कार उपलव्ध गराइने आयोजक संस्थाका महासचिव यामबहादुर गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगिता सञ्चालन गर्न रु २० लाख खर्च लाग्ने अनुमान गरिएको छ भने रु २१ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको छ । यस बर्ष पनि सहारा युकेले द्वितीय पुरस्कार रु ७५ हजार ५५५ प्रायोजन गरेको छ ।

प्रतियोगितालाई खेलकर्मी स्व.रन्जित गुरुङको परिवारले सातौं संस्करण देखि निरन्तर मुख्य प्रायोजन गर्दै आइरहेको छ । १० औं संस्करणको उपाधि मिया सान मिया एफसी वार्यन फेन क्लब नेपाल, काठमाडौले जितेको थियो ।

यसैगरी प्रतियोगिताको उद्घाटन समारोहमा पूर्व राष्ट्रिय खेलाडी तथा शिक्षाविद महेश गुरुङलाई उद्घाटन गरिने भएको छ । यस वर्ष पोखराका अग्रज फुटबल खेलाडी एवम शिक्षाविद् गुरुङलाई ताम्रपत्र एवं दोसल्ला सहित सम्मान गरिने संस्थाका अध्यक्ष गुरुङले बताउनुभयो ।

Comments
Loading...