Tiger Cup

पोखराको ‘होम ग्राउण्ड’मा शतप्रतिशत जितको खोजीमा मनाङ मस्र्याङदी

–कृष्ण दवाडी

हिमाली आवाज ।  नेपालमा विसं २०११ देखी शहीद स्मारक ‘ए डिभिजन लिग’ फुटबलको सुरुआत भयो । विभिन्न उतार चढाबकाबीच घरेलु फुटबलको सर्वोच्च प्रतियोगिताले अहिले ६७ वर्ष पार गरेको छ ।‘ए डिभिजन लिग’ फुटबलको इतिहासमा पहिलो पटक यस वर्ष लिगका तीन खेल राजधानी बाहिर आयोजना गरिए ।

लिगको सफल क्लब मनाङ मस्र्याङदीले लिगलाई राजधानी बाहिर पोखरामा ल्याउने वातावरण बनायो । अखिल नेपाल फुटबल सङ्घ(एन्फा)को सहयोग र मनाङको अग्रसरतामा पहिलोपटक ए डिभिजन लिग फुटबल मोफसल फर्किएको हो ।

पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल स्टेडियमलाई मनाङको घरेलु मैदान(होम ग्राउण्ड) मानिएको छ । गण्डकी प्रदेश र पोखरामा मनाङका समर्थक बढी छन् । मनाङको खेल हुनेभएपछि दर्शक रङ्गशालामा उत्साहित हुँदै आउने गर्दछन् ।

समर्थकको बाक्लो उपस्थितिका बीच खेल्दा आफू अनुकुलको नतिजा निकाल्न टोलीलाई  सहयोग पुग्दछ । आगामी दिनमा ‘होम एण्ड अवे’को लिग अवधारणालाई विकास गर्न एन्फाको योजनापछि मनाङले पोखरालाई घरेलु मैदान बनाएको हो ।

मनाङले जारी शहीद स्मारक लिगमा पोखरामा आफ्नो तीन खेल खेल्ने क्रममा पाचौँ र सातौँ चरणका दुई खेल खेलिसकेको छ । गत पुस ३ र १७ गते दुई खेल खेलेको मनाङले अन्तिम खेलमा भोली शनिबार ‘रेलिगेसन जोन’मा रहेको च्यासल युथ क्लबसँग खेल्दैछ ।

नेपाल पुलिस क्लब र बिग्रेड ब्वाइज क्लब(बिबिसी)सँगका दुई खेलमा जित हासिल गरेको मनाङ घरेलु मैदानमा तेस्रो जितको खोजीमा हुनेछ । च्यासलसँगको खेल जित्दै राजधानी बाहिरका लिगका तीन खेलमा शतप्रतिशत नतिजा निकाल्ने योजनामा मनाङको टिम रहेको छ ।

च्यासलसँगको खेल मनाङको लागि अङ्क तालिकामा शीर्ष स्थानमा उक्लिने अवसर समेत बन्नेछ । सातौँ चरणमा बिबिसीसँगको खेल जित्दै शीर्ष स्थानमा उक्लिएपनि मनाङले एएफसी कम खेल्ने सपना पूरा गर्न सकेन । भोलीपल्ट मछिन्द्र फुटबल क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेपछि मनाङको एएफसी कप खेल्ने सपना तुहिएको हो ।

मछिन्द्र पुलिससँग पराजित वा बराबरीमा रोकिएको अवस्थामा एएफसी खेल्ने भाग्य मनाङको जुर्ने थियो । एएफसीमा नेपालको प्रतिनिधित्व गर्ने अवसर नजुरेपनि मनाङलाई शनिबारको खेलमा बिजयी हुँदै लिगमा शीर्ष स्थानमा रहँदै उपाधि होडलाई थप बलियो बनाउने मौका रहेको छ ।

मनाङले हालसम्म सात खेलमा १६ अङ्क जोड्दै दोस्रो स्थानमा छ । ‘लिग लिडर’ मछिन्द्रभन्दा मनाङ एक अङ्कले मात्र पछाडि छ । त्यसले पनि च्यालसँगको खेल जित्दै शीर्ष स्थानमा उक्लिने र उपाधि होड बलियो बनाउने अवसर मनाङलाई छ ।

पोखरा रङ्गशालामा पहिलो खेलमा मनाङले नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । त्यसैगरी बिबिसीसँग दोस्रो खेलमा १–० को कठिन जित निकालेको थियो ।

शनिबार पोखरा रङ्गशालामा हुने खेल अघि आज आयोजना गरिएको पत्रकार सम्मेलनमा मनाङ र च्यासल दुबै टोलीका प्रशिक्षकले खेलमा सुधार गर्दै राम्रो फुटबल खेलेर तीन अङ्क जोड्ने दावी गरेका छन् ।

मनाङ मस्र्याङदीका विदेशी प्रशिक्षक फुजा टोपेले एएफसीमा छनोट नभएपनि टोलीको मनोवल कम नभएको बताउनुभयो । घरेल मैदानमा आफ्नो टोलीले खेल नगुमाउने बताउँदै उहाँले शनिबार फरक रणनीतिका साथ मैदान ओर्लिने योजना रहेको सुनाउनुभयो ।एएफसी गुमाएपनि लिगको उपाधि जित्ने अवसर रहेकाले सोही अनुसार मिहिनेत गरेर बाँकी खेल खेल्ने प्रशिक्षक टोपेले बताउनुभयो ।

च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले रेलिगेसन जोनबाट बाहिर निस्कन चाहेकाले राम्रो खेल पस्किदै तीन अङ्क बटुल्ने बताउनुभयो । पछिल्लो खेलमा सुधार भएकाले खेलाडीमा कन्फिडेन्स बढेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,“रेलिगेसन जोनबाट माथि आउन हामीलाई जित चाहिन्छ,मनाङ बलियो टोली हो । तयारी राम्रो भएको छ, पछिल्लो खेलमा सुधार गरेकाले खेलाडीहरु कम्फिडेन्स छन् । आस गरौँ हामी भोली राम्रो प्रदर्शन गर्नेछौँ ।”अघिल्ला खेलहरुमा देखिएको रक्षात्मक गल्तीहरुलाई सुधार गर्दै आक्रमणमा सुधार गर्ने रणनीति टोलीको रहेको साहुखलले बताउनुभयो ।

टिप्पणिहरु
Loading...