घरेलु मैदानमा मनाङले लिगका तीनै खेल जित्यो,च्यासलसँग फराकिलोे जित

हिमाली आवाज । घरेलु मैदानमा मनाङ मस्र्याङदी क्लबले ‘कतार एअरवेज’ सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज च्यासल युथ क्लब माथि ५–० को फराकिलो अन्तरको जित हासिल गरेको छ ।

पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल मैदानमा सम्पन्न खेलमा मनाङले ओलावाले ओलाडिपे अफिजको ह्याट्रिक मद्धतमा लिगमा ‘रेलिगेसन जोन’मा रहेको च्यासल माथि प्रभावशाली जित दर्ता गरेको हो ।

मनाङले पहिलो हाफमा दुई गोल गरेकामा दोस्रो हाफमा तीन गोल गर्न सफल भयो । दोस्रो हाफको इन्जुरी समयमा मात्रै मनाङले दुई गोल गरेको थियो ।

खेलको तेस्रो मिनेटमानै मनाङका विदेशी खेलाडी सोमिडेले गोल गर्दै टोलीको अग्रता बनाउनुभएकामा ओलावालेले ४३ औँ मिनेटमा अग्रता दोब्बर बनाउनुभयो ।

मनाङका डिफेण्डर दिनेश राजवंशीले खेलको ८६ औँ मिनेटमा गोल गर्दै अन्तर फराकिलो बनाउनुभयो । ओलावालेले छ मिनेटको इन्जुरी समयको तेस्रो र चौथो मिनेटमा लगातार गोल गर्दै ह्याट्रिक पूरा गर्नुभयो ।

खेलमा च्यासलले पनि गोल गर्ने केही मौका सिर्जना गरेपनि सदुपयोग गर्न सकेन । पहिलो हाफको तुलनामा दोस्रो हाफमा बलमा पकड बनाउँदै च्यासलले मनाङमाथि दबाब बढाएपनि गोल गर्न भने असफल रह्यो ।

खेलको ६५ औँ मिनेटमा च्यासलका प्रशिक्षक बालगोपाल साहुखल रातो कार्ड खाँदै टचलाइनबाट बाहिरिनुभएको थियो । रेफ्रीको निर्णयमा असहमति जनाएपछि पहिलो पटक पहेँलो कार्ड बेर्होनुभएका प्रशिक्षक साहुखलले दोस्रो पटक रातो कार्ड बेर्होनुभयो ।

च्यासलसँगको खेलमा जित हासिल गरेसँगै मनाङले घरेलु मैदानमा खेलेका तीनै खलमा शतप्रतिशत नतिजा निकालेको छ । गत पुस ३ गते नेपाल पुलिस क्लबमाथि ३–१ को जित दर्ता गरेको मनाङकाले पुस १७ गते ब्रिगेड ब्वाइज क्लबमाथि १–० अन्तरको जित हासिल गरेको थियो ।

मनाङले पोखरा रङ्गशालालाई घरेलु मैदान बनाएपछि पहिलो पटक शहीद स्मारक ए डिभिजन लिगका तीन खेल पोखरामा खेलाइएको हो ।

खेलपछिको पत्रकार सम्मेलनमा मनाङ मस्र्याङदीका विदेशी प्रशिक्षक फुजा टोपेले राम्रो खेलेर जित हासिल गरेको बताउँदै लिगको उपाधिको दावेदारी थप बलियो भएको बताउनुभयो ।आगामी दिनको खेलमा अङ्क नगुमाउने र उपाधि जित्ने योजना उहाँले सुनाउनुभयो ।

च्यासलका सहायक प्रशिक्षक थमन भुसालले आफ्नो टोलीको खेल राम्रो भएपनि रेफ्रीको कमजोर निर्णयका कारणले फराकिलो अन्तरको हार बेर्होनु परेको आरोप लगाउनुभयो । जारी लिगमा ‘रेलिगेसन जोन’बाट माथि उक्लिन थप मिहिनेतको खाँचो रहेको उहाँले बताउनुभयो ।

Comments
Loading...