गण्डकीमा राष्ट्रियसभा निर्वाचनमा जित सुनिश्चित : सत्ता गठबन्धन

हिमाली आवाज । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा सत्ता गठबन्धनले जिल्लाहरुमा निर्वाचन प्रचार, परिचालन र मतदाता भेटघाट सुरु गरेको छ ।

संविधानको रक्षाका लागि गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउने उद्धेश्यले प्रचार कार्यक्रम सुरु गरिएको र उम्मेदवारहरुको विजय निश्चित रहेको गठबन्धनले आज पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।उम्मेदवारहरुलाई विजयी गराउन पाँच दलीय गठबन्धनको संयन्त्र तयार पारेर काम अघि बढाइएको सो अवसरमा जानकारी दिइयो ।

प्रदेशमा गठन गरिएको पाँच दलको संयन्त्रमा नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, नेकपा(माओवादी केन्द्र) गण्डकीका अध्यक्ष गायत्री गुरुङ,नेकपा(एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य श्रीनाथ बराल, राष्ट्रिय जनमोर्चा गण्डकीका अध्यक्ष शंकर बराल र जनता समाजवादी पार्टीका प्रदेश उपाध्यक्ष हेमबहादुर थापा रहनुभएको छ ।

निर्वाचन प्रचार कार्यक्रममा अन्तर्गत गोरखा जिल्लामा मतदाता भेटघाट सम्पन्न भएको बताइन्छ । यसैगरी यही पुस २८ गते नवलपुर,२९ गते कास्की, ३० गते तनहुँ,माघ २ गते लमजुङ, ३ गते पर्वत र बाग्लुङ, ४ गते म्याग्दी र ५ गते स्याङ्जामा चुनावी प्रचार भेटघाट कार्यक्रम तय गरिएको नेकपा माओवादी केन्द्र कास्कीका संयोजक बखानसिँह गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार मनाङ र मुस्ताङ जिल्लामा सो जिल्लाको अनुकुलतामा चुनावी प्रचार कार्यक्रम हुनेछ ।

राष्ट्रियताको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सदृढीकरण र जनताका अपेक्ष पूरा गर्दै संविधानको रक्षा र कार्यान्वयनका लागि पाँच दलीय गठबन्धनलाई प्रदेशसम्म विस्तार गरिएको काँग्रेसका प्रदेश सभापति शर्माले बताउनुभयो । उहाँले अहिलेको गठबन्धनलाई भविष्यमा पनि निरन्तरता दिनुपर्नेमा प्रदेशमा रहेका गठबन्धनका सबै दलको मत रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“अहिलेको अवस्थामा एउटा दलले मात्र प्रतिगमनलाई रोक्न सक्ने अवस्था छैन । राष्ट्रियसभा निर्वाचनका लागि मात्र होइन, त्यसपछि पनि गठबन्धन निरन्तर आवश्यक छ ।”

प्रदेशमा गठबन्धनका उम्मेदवार ६६९ मतले अगाडि गठबन्धनका उम्मेदवारको विजय सुनिश्चित रहेको नेकपा(एकीकृत समाजवादी) गण्डकी प्रदेशका सचिव प्रतापलाल श्रेष्ठले बताउनुभयो ।

मनाङबाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ प्रदेश सरकारको मन्त्री रहेको तथा राप्रपाका मतदातासँग समेत छलफल गरिएकाले गठबन्धनको मत अझै बढ्ने उहाँको भनाई छ ।

राष्ट्रियसभा निर्वाचनका लागि गण्डकी प्रदेशमा सत्ता गठबन्धनबाट नेकपा(माओवादी केन्द्र)का सुरेशकुमार आलेमगर अन्य समूहमा र नेपाली काँग्रेसका कमला पन्त महिलातर्फ उम्मेदवार बन्नुभएको छ । यसैगरी माओवादी केन्द्रका भुवन सुनार दलिततर्फको उम्मेदवार हुनुहुन्छ । यस प्रदेशमा नेकपा एमाले भने एकल रुपमा निर्वाचनमा होमिएको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता रहनेछन् । गण्डकीमा प्रदेशसभाका ५९ र ८५ स्थानीय तहका प्रमुख र उपप्रमुख १७० गरी २२९ जना मतदाता छन् ।

Comments
Loading...