जीप दुर्घटनामा आठ जनाको ज्यान गएको घान्द्रुकको कलाभिरमा ‘रेलिङ’ निर्माण

हिमाली आवाज । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० स्थित नयाँपुल–घान्द्रुक सडकखण्डको कलाभिरमा पक्की रेलिङ निर्माण गरिएको छ ।

सो स्थानमा गत असोज २५ गते यात्रु बाहक जीप दुर्घटना हुँदा घान्द्रुक घुम्न गएका सात विद्यार्थी र चालक सहित आठको मृत्युपछि दुर्घटना न्यूनीकरण गर्न रेलिङ निर्माण गरिएको हो ।

पर्यटकीय घान्द्रुक तथा अन्नपूर्ण आधार शिविर जाने सो सडकको कलाभिरमा दुर्घटनाको जोखिम कायमै रहेकाले लामा अमृत फाउण्डेशनले रु एक लाख ४५ हजार लागतमा निर्माण गरेको हो ।

घान्द्रुकका होटल तथा पर्यटन व्यवसायीहरु र देश विदेशमा रहेका दाताहरुको सहयोगमा पक्की रेलिङ निर्माण गरिएको फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले बताउनुभयो ।

विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविरको प्रवेशद्धार रहेको घान्द्रुकका बारेमा दुर्घटनापछि नकारात्मक सन्देश प्रवाह भएकामा यात्रुहरुलाई सुरक्षित महशुस गराउन र दुर्घटनाको जोखिम कम गर्न रेलिङ निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“दुर्घटनापछि पर्यटकमा नराम्रो सन्देश गएपछि हामीले सुरक्षित महशुस गराउन रेलिङ निर्माण गरेका हौँ,सडक खण्डका पाँच वटा घुम्तीमा ऐना पनि राखेका छौ।” दुर्घटनापछि स्थानीयवासी समेत यात्रा गर्न डराउने गरेको बताइन्छ ।

एम्बुलेन्स चालक तथा निर्माण समितिका संयोजक याम बहादुर गुरुङले सो खडक खण्डमा यात्रा गर्दा अब भने केही ढुक्क हुने अवस्था रहेको र त्रास कम भएको बताउनुभयो ।

दुर्घटनापछि प्राय सवारी चालकहरु त्रसित हुने गरेको बताउँदै उहाँले भन्नुभयो,“ यस ठाउँमा सबैभन्दा ठुलो दुर्घटना यही थियो । त्यसैले यहाँ आउँदा डर पनि लाग्थ्यो, अब भने ढुक्क भएका छौँ ।”

जोखिम क्षेत्रमा ढलानका निम्ति गण्डकी प्रदेश सरकारबाट रु २० लाख बजेट विनियोजन भएकाले ढलानको काम पनि छिटै सुरु गरिने गुरुङले जानकारी दिनुभयो ।

Comments
Loading...