कास्कीका कृषकले दूधमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाए

हिमाली आवाज । कास्कीका व्यावसायिक पशुपालक कृषकले दुधको मूल्य बढाउने निर्णय गरेका छन् ।

यसअघि सरकारले निर्धारण गरेको मूल्य समय सान्दर्भिक नभएको र किसानको मागलाई सम्वोधन नगरेको भन्दै आगामी फागुन १ गतेदेखी लागू हुने गरी कच्चा दुध तथा दुग्धजन्य पदार्थमा प्रतिलिटर १० रुपैयाँ वृद्धिको निर्णय गरिएको छ ।

सरकारले गत माघ १७ गते दुधमा प्रतिलिटर छ रुपैयाँ ५२ पैसा वृद्धिको निर्णय गरेकामा कृषकले सो भन्दा बढी मूल्य तय गरेका हुन् । सबै दुग्धजन्य पदार्थमा रु १० वृद्धि हुने भएको छ ।

राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादन कृषक समाजले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी माघ २२ गते बसेको समाजको बैठकले फागुनदेखी लागू हुने गरी दूधमा मुल्यवृद्धिको निर्णय गरिएको जनाएको छ ।

समाजले मूल्य वृद्धि गरेर भैँसीको दुध प्रतिलिटर रु १३०, गाईको दुध रु १००, दही प्रति लिटर रु १४०, पनिर रु ८००, घीउ रु एक हजार २०० र नौनी प्रतिकेजी रु एक हजारमा निर्धारण गरेको छ ।

समाजका अध्यक्ष दीपक तिमिल्सिनाले उत्पादन लागतमा दोब्बर वृद्धि भएको र कृषकको पीडा सरकारले सम्वोधन नगरेपछि मूल्य बढाउन बाध्य हुनुपरेको बताउनुभयो ।

दुधको मुल्य समायोजनका लागि सरकारद्धारा गठित कार्यदलले प्रतिलिटर न्यूनतम रु १० वृद्धि गर्न सरकारलाई सिफारिस गरेपनि सरकारले कार्यान्वयन नगरेपछि आफूहरु मूल्य वृद्धि गर्न बाध्य बनेको उहाँको भनाई छ ।

“सरकारले कार्यदलले दिएको सुझाव कार्यान्वयन नगरेपछि मूल्यवृद्धि गर्नुपर्ने बाध्यात्मक अवस्था आएको हो ।” अध्यक्ष तिमिल्सिनाले भन्नुभयो,“चोक्कर, दाना र परालको मूल्य दोब्बर हुने तर दुधको मूल्य लामो समयपछि सिफारिस अनुसार नहुने भएपछि कृषक मर्कामा प¥र्यो, हाम्रो उत्पादनको मूल्य हामी आफैँले निर्धारण गर्न अघि बढेका हौँ ।”

समाजको केन्द्रीय निर्णयनै सरकारले निर्धारण गरेको मूल्य समय सान्दर्भिक नभएको भन्ने रहेकाले देशभरनै मूल्यवृद्धि हुने समाजका सचिव जीवन अधिकारीले बताउनुभयो । समाजले कृषकलाई उत्पादनका आधारमा अनुदान दिन समेत सरकारसँग माग गरेको छ ।

Comments
Loading...