शिक्षामन्त्री पौडेलबाट अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको भवन शिलान्यास

हिमाली आवाज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकार देशका ७५३ वटै पालिकामा प्राविधिक शिक्षालय स्थापना गर्ने योजनामा रहेको बताउनुभएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–३ मा आज प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटीईभिटी)को आङ्गिक शिक्षालय ‘अन्नपूर्ण बहुप्राविधिक शिक्षालय भवन’को शिलान्यास गर्दै उहाँले फरक फरक प्रकृतिका विषय समेटिने गरी प्राविधिक शिक्षा देशका सबै स्थानीय तहमा सञ्चालन गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो,“देशका सबै पालिकामा शिक्षालय खोलिन्छ, त्यसपछि त्यहाँ उत्पादन भएको सीपलाई श्रम, उत्पादन हुँदै रोजगारीसँग जोड्ने योजनामा सरकार छ ।”अन्नपूर्ण बहुप्राविधिक शिक्षालयलाई नमूनाका रुपमा सञ्चालन गर्नका लागि आवश्यक बजेटका लागि मन्त्रालयले सहयोग गर्ने मन्त्री पौडेलले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले कक्षा ९ देखि १२ सम्म अध्यनरत विद्यार्थीलाई अध्ययनका अलवा श्रम र उत्पादनसँग जोड्नका लागि ‘पढ्दै कमाउँदै कार्यक्रम’को कार्यविधि निर्माण भई कार्यान्वयनको प्रक्रियामा अगाडि बढिसकेको जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सांसद दुर्गाकुमारी विकले प्राविधिक र रोजगारमूलक शिक्षाबाट बेरोजगारी अन्त्य गरी समृद्धि हासिल गर्नुपर्ने बताउनुभयो । अन्नपूर्ण बहुप्राविधिक शिक्षालयमा दुईवर्षदेखी तीन वर्षे बाली विज्ञान विषय(आइएससी एजी)को पढाई हुँदै आएको छ ।

शिक्षालयको आफ्नै भवन नभएकाले हाल माछापुच्छ«े माध्यमिक विद्यालयको भवनमा कक्षा सञ्चालन गरिरहेको छ । शिक्षालयमा ८० नियमिततर्फ र विशेष प्रोग्राममा ४० जना गरी १२० जना विद्यार्थी अध्ययनरत रहेको शिक्षालय प्रमुख मोतिमाया सुवेदीले जानकारी दिनुभयो ।
विसं २०७६ देखी सिटीईभिटीको आङ्गिक क्याम्पसको रुपमा सञ्चालन भएको शिक्षालयको नयाँ भवन निर्माणका लागि रविना कन्स्ट्रक्सनसँग रु तीन करोड ८७ लाखमा ठेक्का सम्झौता गरिएको सुवेदीले बताउनुभयो ।उहाँका अनुसार शिक्षालय सञ्चालनका लागि अन्नपूर्ण गाउँपालिकामा ५०० रोपनी जग्गा आवश्यक रहेकाले जमिन खोजी गरिएको छ ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्का सदस्य सचिव जीवनारायण काफ्ले, गाउँपालिका अध्यक्ष युवराज कुँवर, गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवर, शिक्षासेवी पुण्यप्रसाद पौडेल लगायतले प्राविधिक शिक्षाको महत्वका बारेमा भनाई राख्नुभयो ।

Comments
Loading...