जनयुद्धका शहीदका सन्ततिले माओवादी आन्दोलनका नेतालाई एकै ठाउँमा राख्ने, माओवादी एकता अभियान चलाउने

हिमाली आवाज । जनयुद्धका शहीदका सन्ततिहरुले हाल विभिन्न दलमा विभाजित माओवादी धारका पार्टीहरुकाबीचमा एकता अभियान सञ्चालन गर्ने भएका छन् ।

माओवादी आन्दोलनमा आएको विभाजनको कारणनै अझै पनि देशमा आशातित परिर्वतन हुन नसक्नु रहेकाले उनीहरुले एकताका लागि शीर्ष नेताहरुलाई भेट्ने, एउटै मञ्चमा अन्तरक्रिया गर्ने देखी अभियान सञ्चालन गर्ने भएका हुन् ।

जनयुद्ध दिवसका अवसरमा आज पोखराको शहीद स्मृति भवनमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा शहीद तथा बेपत्ताका सन्ततिहरुले जनयुद्धको जगमा अहिलेको परिर्वतन भएपनि यथास्थितिवादी र परिर्वतनविरोधीहरुले जनयुद्ध र शहीदको योगदानको अवमुल्यन गर्दा आफूहरु दुःखित भएको बताएका छन् ।

कार्यक्रममा अनेरास्ववियु( क्रान्तिकारी) का केन्द्रीय सदस्य एंवम शहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनका केन्द्रीय सदस्य सुजन सापकोटाले जनयुद्धका एजेन्डा संस्थागत र बैज्ञानिक समाजवाद प्राप्तिका लागि समेत माओवादीको एकता अपरिहार्य रहेको बताउनुभयो ।
एकता अभियान सञ्चालनका लागि तत्कालीन माओवादी आन्दोलनका शीर्ष नेताहरु पुष्पकमल दाहाल(प्रचण्ड),मोहन बैद्य, डा बाबुराम भट्टराई, नेत्रविक्रम चन्द र आहूति लगायतका नेताहरुलाई भेटेर आग्रह गरिने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“ माओवादी एकतावद्ध नहुँदासम्म जनताका सपना अझै पनि पूरा हुन सक्दैनन् । एकताका लागि हामीले सबै शीर्ष नेताहरुलाई सुरुआतमा पत्र सहित भेटेर आग्रह गर्नेछौँ । त्यसपछि सबै नेतालाई एउटै मञ्चमा राखेर अन्तरक्रिया गर्नेछौँ । शहीदलाई सम्झेर भएपनि नेताहरुलाई मिल्न आग्रह गरिनेछ ।”

नेत्रविक्रम चन्द(विप्लव) निकट अनेरास्ववियु ( क्रान्तिकारी)का केन्द्रीय सदस्य उपेन्द्र परियारले माओवादीहरुले जनयुद्धका लक्ष्य,उद्धेश्य र सहिदका सपना भुलेर आफ्नो ब्यत्तिगत स्वार्थमा भुलेकाले अब आचरण सुधार गर्दै क्रान्तिकारी धार निमाण गर्नुपर्ने बताउनुभयो । उहाँले माओवादी एकता तथा धूर्वीकरण अभियान देशभर सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

Comments
Loading...