हिमाली आवाज । पोखरास्थित महत्वपूर्ण पर्यटकीय गन्तव्य फेवाताल किनारबाट अर्को पर्यटकीयस्थल सराङकोटडाँडा जोड्ने गरी निर्माण गरिएको केवलकार आजदेखी सञ्चालनमा आएको छ ।
अन्नपूर्ण केबलकार प्रालिले निर्माण गरेको पोखरा महानगरपालिका–१८ को सेदीदेखी सराङकोटसम्म दुई हजार २६५ मिटर लामो ‘अन्नपूर्ण केवलकार’को व्यावसायिक सेवा सुभारम्भ गरेको छ ।
कम्पनीले आगामी नेपाली नर्यावर्षमा ‘ग्राण्ड लञ्चिङ’ गर्ने र हालका लागि ‘सफ्ट लञ्चिङ’ मार्फत विहान १० बजेदेखी साँझ ४ बजेसम्म व्यावसायिक सञ्चालन सुरु गरिएको अन्नपूर्ण केवलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले बताउनुभयो । स्वदेशी तथा विदेशी पर्यटक धेरै आउने पोखरामा पर्यटनको एउटा नयाँ ‘ब्राण्ड’ थपिएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो,“अङ्ग्रेजी नयाँवर्षका दिनदेखी व्यावसायिक सञ्चालनको योजना रहेपनि प्राविधिक समस्याका कारण ढिलाई भएको हो । सफ्ट लञ्चिङ सहित सेवा सुरु गर्दैछौँ, । सञ्चालनको घडीमा आउँदा केवलकार समग्र पोखरा र देशका लागिनै गौरवको प्रोजेक्ट हो ।”
केबलकार सञ्चालनमा आएसँगै फेवातालको किनार सेदीबाट नौ मिनेट समयभित्रमा सराङकोट पुग्न सकिने कम्पनीले जनाएको छ । अहिले फेवातालबाट सराङकोट जान गाडीमा करिब ३५ देखी ४५ मिनेट समय लाग्छ । केवलकारको तल्लो स्टेशन समुन्द्र सतहदेखी ८२४ मिटरमा रहेकामा माथिल्लो स्टेशन एक हजार ४६५ मिटर रहेको छ ।

प्राकृति सुन्दरताले भरिएको पोखरामा केबलकार पर्यटकको नयाँ गन्तव्य र रोजाइ बन्नेछ । प्राकृतिक सुन्दरताले विश्वमानै ख्याती कमाएको शहरमा नयाँ गन्तव्यले पर्यटकको बसाँइ लम्बाउन र थप पर्यटक भित्राउन सहयोग पुग्ने विश्वास लिइएको छ ।
केवलकार सञ्चालनपछि सुन्दर फेवाको किनारबाट केबलकारमा चढेर ताल र हिमाल हेर्दै सराङकोट डाँडामा पुग्ने अवसर पर्यटकले पाउनेछन् । सराङकोट सूर्योदय र सूर्याष्त, सहित हिमाल र तालको दृश्यावलोकनका लागि प्रख्यात छ ।
केवलरकारमा हालसम्म रु दुई अर्व लगानी भएको निर्देशक त्रिपाठीले जानकारी दिनुभयो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न जारी बन्दाबन्दीका कारणले पनि परियोजना सम्पन्न हुन ढिलाई भएको र लागत बढेको बताइन्छ ।
केवलकारमा जडान गरिएका उपकरण र प्रविधि पछिल्लो समयमा विकास भएको आधुनिक भएको बताइन्छ । जापानको ‘निप्पल केवल’ कम्पनीबाट डिजाइन र विकसित प्रविधिलाई प्रयोगमा ल्याइएको छ । केवलकारमा पोखरा र काठमाडौँका प्रतिष्ठित व्यवसायीको लगानी छ ।
कम्पनीले नेपालीका लागि रु ७००, सार्क राष्ट्रका पर्यटकका लागि र ८०० र तेस्रो मुलुकका नागरिकका लागि नौ डलर भाडा दर तय गरिएको परियोजनाका महाप्रवन्धक दिनेश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ज्येष्ठ नागरिक र अपाङ्गहरुका लागि भाडामा ५० प्रतिशत छुट दिइने छ ।
केवलकारको तल्लो र माथिल्लो दुबै स्टेशन भवन रहेको छ । यसैगरी भ्यु टावर, दुबै स्टेशनमा गार्डेन, पार्किङ सहितको संरचना निर्माण गरिएको छ । दुबै स्टेशनमा रेष्टेरेन्ट, कफी सप सञ्चालनको योजना छ ।
केबलकारमा हाल १७ वटा गुण्डला(डिब्बा) जडान गरिएको छ । एउटा डिब्बामा आठ जना अट्ने क्षमता रहेको र प्रतिघण्टा ५०० जनाले यात्रा गर्न सक्नेछन् ।स्थानीयवासीबाट २५ प्रतिशत र विभिन्न व्यवसायीहरुबाट ७५ प्रतिशत लगानी आयोजनामा भएको छ । केबलकार परियोजनाले माथिल्लो र तल्लो स्टेशनमा ३० रोपनी र राइट अफ वे(बाटो)मा २५ रोपनी जमिन ओगटेको बताइन्छ ।