हिमाली आवाज । पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयको आफ्नै स्थायी संरचना बन्ने भएको छ । पोखरा २९ खल्याणस्थित शिक्षालयको नयाँ भवन निर्माणका लागि शनिबार मेयर मानबहादुर जिसी, संघीय सांसद तथा पूर्वगृहमन्त्री खगराज अधिकारी र प्रदेश सांसद एवं विकास समिति सभापति दीपक कोइरालाले संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।
आउँदो वर्षको फागुन २९ गतेसम्म निर्माण सक्ने गरी भूमि इन्फास्ट्रक्चर प्रालिले ठेक्का लिएको छ । उक्त कम्पनीले ११ करोड ४२ लाख रुपैयाँमा योजना सम्पन्न गर्ने गरी जिम्मा लिएको महानगरका इन्जिनियर लक्ष्मीप्रसाद गौतमले जानकारी दिनुभयो । भवन ४० हजार ४ सय ९२ स्क्वायर फिटमा फैलिने छ । संघ सरकारको विशेष अनुदान र पोखरा महानगरपालिकाको लगानीमा भवन बन्न लागेको हो ।
शिक्षालयको डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन अटो मोबाइल इन्जिनियरिङको अध्यापन कार्यक्रम हाल पोखरा २९ कै जनप्रकाश माविको भवनबाट सञ्चालित छ ।

उक्त कार्यक्रममा भर्ना भई अध्ययनरत विद्यार्थीले सर्टिफिकेट लिँदा नलिँदै आफ्नै सुविधायुक्त नयाँ भवन पाउने संघीय सांसद एवं पूर्व गृहमन्त्री खगराज अधिकारीले बताउनुभयो । ‘तिव्र गतिका साथ शिक्षालयको भवन निर्माण हुने हाम्रो विश्वास छ,’ उहाँले भन्नुभयो,‘बाटो, पुलपुलेसा भन्दा पनि देशलाई कायापलट गर्न गुणस्तरीय र प्राविधिक शिक्षा महत्वपूर्ण विषय हो ।’
प्राविधिक शिक्षालयबाट अधिकतम फाइदा लिन मेयर मानबहादुर जिसीले स्थानीयलाई आग्रह गर्नुभयो । ‘शिक्षालयबाट दक्ष प्राविधिक उत्पादन हुने विश्वास लिएको छु । उत्पादित जनशक्तिले गरेका कामहरु प्राविधिकरुपमा उत्कृष्ट हुनेछन्’ जिसीले भन्नुभयो,‘भवन निर्माण समयमै सुरु भई सम्झौता अवधि भित्रै सम्पन्न हुनेछ ।’
प्रदेश सांसद दीपक कोइरालाले आजको आवश्यकता प्राविधिक शिक्षा भएकोले गर्दा पोखरा महानगरजस्तै अन्य पालिकाहरुले समेत प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।महानगरको सोचलाई समुदायस्तरसम्म पु¥याई सफल बनाउन शिक्षालयले योजनालाई मूर्तरुप दिन लागिपरेको निर्देशक लक्ष्मण तिमिल्सिनाले बताउनुभयो ।