हिमाली आवाज । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल (जीवन)ले चालु आर्थिक बर्षमा पूँजीगत बजेट कम्तिमा पनि ८० प्रतिशत खर्च गर्ने गरी कामको गति बढाउन निर्देशन दिनु भएको छ ।
प्रदेशको अर्थ मन्त्रालयले बिहीबार तनहुँमा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुसासन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बरालले पुंजिगत खर्च ८० प्रतिशतभन्दा बढी गर्ने गरी कामको गति बढाउन निर्देशन दिनु भएको हो ।
लुकेर बसेका राजश्वको क्षेत्र वा सुत्रहरु जानकारी गराउन आग्रहगर्दै मन्त्री बरालले प्रदेशको आन्तरिक श्रोत बृद्धि गर्नुपर्ने बताउनु भयो । संघको बजेटले मात्र प्रदेश सरकार चल्नुको औचित्य नहुने उहाँले जनाउनु भयो । सम्बन्धित कार्यालयहरुको समस्या पहिचान गरी समाधान गर्न भनि आयोजना गरिएको उक्त कार्यक्रम पश्चात योजनाहरु समयमै गुणस्तरिय ढंगले सम्पन्न हुने मन्त्री बरालले विश्वास व्यक्त गर्नु भयो ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले राजश्व बृद्धि हुने श्रोतहरुको खोजी गर्नुपर्ने बताउनु भयो । मन्त्रालयले कम्तिमा चौमासिकमा छलफल तथा अन्तरक्र्रिया कार्यक्रम गर्न सके बजेट प्रभावकारी हुने उहाँले दाबी गर्नु भयो । प्रदेश निती तथा योजना आयोगका सदस्य माया तिमिल्सिनाले बजेट खर्च गरेसंगै गुणस्तरियतालाई समेत ध्यान दिन सुझाव दिनु भयो ।
मन्त्रालयका सचिव बैकुण्ठ प्रसाद अर्यालले सम्बन्धित मन्त्रालयले २५ प्रतिशतसम्म रकमान्तर गर्न सक्ने बताउदै बढी रकम रकमान्तर गर्नु पर्दा अर्थसंग सहमति लिनुपर्ने बताउनु भयो । यस बर्ष खर्च भएर बचत हुने सम्भावना न्यून रहेको उहाँले बताउनु भयो ।
मन्त्रालयका उपसचिव वसन्तराज तिवारीले पुंजिगत खर्च बढाउने उद्धेश्यले हालसम्म प्रदेशका ९ जिल्लामा उक्त कार्यक्रम गरिएको बताउनु भयो ।
