काठमाडौँ । अन्नत प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना(एमसीसी) पारित भएको छ । विसं २०७६ मंसिरमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसदमा दर्ता गराउनुभएको एमसीसी परियोजना आज प्रतिनिधिसभाबाट बहुमतले पारित भएको हो ।
प्रतिनिधिसभाले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ ।
संसदमा भएको छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले उक्त प्रस्ताव पारित गरियोस भन्ने प्रस्ताव गर्नुभएकामा सभामुख अग्नि सापकोटाले प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन गर्नुभयो । त्यसक्रममा हुन्छ भन्ने पक्षमा बहुमत सांसद उभिएका थिए ।

त्यसअघि एमसीसीमाथि सैद्धान्तिक छलफल भएको थियो । छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै सरकारले एमसीसीमाथि व्याख्यात्मक घोषणामार्फत प्रस्ट पारेकाले भ्रममा नपर्न आग्रह गर्नुभयो ।
‘एमसीसी आर्थिक परियोजना हो भनेर सरकारले स्पस्ट गरिसक्यो अब यसमा भ्रममा पर्न जरुरी छैन । राष्ट्रिय स्वाधिनता, अखण्डता र जनताको अधिकार तलमाथि गर्न दिँदैनौ’, अर्थमन्त्री शर्माको जवाफ थियो ।
व्याख्यात्मक घोषणा गरेर प्रक्रियामा आएकाले संसदले पारित गरेसँगै कानुनी प्रक्रियाको कम्प्याक्टबाट पनि पारित हुने र पारित भएन भने यो स्वत निस्क्रिय हुने उल्लेख गर्नुभयो ।
नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका सांसदले एमसीसीका पक्षमा मत दिए । प्रमुख प्रतिपक्षी एमालले सदन अवरुद्ध गरेर नारावाजी गरेपनि एमसीसीका विपक्षमा भने नारा लगाएको थिएन । एमालले लामो समयदेखी संसद अवरुद्ध गर्दै आएको छ । एमालेका सांसद भीम रावलले भने एमसीसीको विपक्षमा मत जाहेर गर्नुभयो ।