सामुदायिक विद्यालय छात्र÷छात्रा भलिबलमा शान्ता माविलाई दोहोरो उपाधि

हिमाली आवाज । पोखरामा आयोजना गरिएको ‘सृजना कप सामुदायिक माध्यमिक विद्यालय’ छात्र÷छात्रा भलिबल प्रतियोगिताको उपाधि पोखरा–१८ सराङकोटमा अवस्थित शान्ता माध्यमिक विद्यालयले जितेको छ ।

खेलकुदको जग मानिने सरकारी विद्यालयमा भलिबल खेलको विकास गरी देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य सहित यही चैत ५ गतेदेखी आयोजना गरिएको प्रतियोगिताको सोमबार सम्पन्न फाइनलमा छात्र÷छात्रा दुबैतर्फ च्याम्पियन बन्दै शान्ता माविले दोहोरो उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

पोखरा रङ्गशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सम्पन्न फाइनल खेलमा छात्रतर्फ शान्ता माविले मेश्रम बराह माविलाई २५–२१, २५–१६ र २७–२५ को सोझो सेटमा पराजित गर्न सफल भयो भने छात्रातर्फ लक्ष्मी माविलाई २५–२०, २५–८ र २५–१० को सोझो सेटमा हराएको हो ।
उपाधि जितेको शान्ता माविले दुवैतर्फ गरी रु एक÷एक लाखका दरले नगद तथा शिल्ड, मेडल र प्रमाणपत्र हात पा¥यो । उपबिजेता बनेका दुवै विद्यालयले नगद रु ५०÷५० हजारका दरले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा छात्रतर्फ कालिका मावि र छात्रातर्फ विन्ध्यबासिनी मावि तृतीय स्थान हासिल गर्न सफल भई नगद रु ३०÷३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।प्रतियोगितामा छात्रतर्फ शान्ता माविका ज्ञानु परियार तथा छात्रातर्फ शान्ता माविकै गंगा गुरुङ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै जनही रु पाँच हजारका दरले पुरस्कार,मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

प्रतियोगितामा छात्रतर्फ मेश्रम वराह माविका सविन नेपाली उत्कृष्ट स्पाइकर, शान्ता माविका विवेक सुनार उत्कृष्ट सेटर, शान्ता माविकै सुभास गुरुङ उत्कृष्ट सर्भर, कालिका माविका उमेश गुरुङ उत्कृष्ट डिफेन्स र मेश्रम वराह माविका किशोर विक उत्कृष्ट व्लकर घोषित हुनुभयो ।

यसैगरी, छात्रातर्फ चार विधामा शान्ता माविका विद्यार्थी उत्कृष्ट भए । शान्ता माविका जमुना गुरुङ उत्कृष्ट स्पाइकर, निशा भुजेल उत्कृष्ट सेटर र शिला बस्नेत उत्कृष्ट सर्भर घोषित हुनुभयो ।

च्याम्पियन बनेका विद्यालय तथा उत्कृष्ट खेलाडीहरुलाई सृजना विकास केन्द्रका अध्यक्ष ईन्द्रप्रसाद पौडेल, कास्की जिल्ला भलिबल सङ्घका अध्यक्ष भीम पराजुली, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानिया, पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्का लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

कास्की जिल्ला भलिबल सङ्घ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा भएको प्रतियोगितामा कास्की जिल्लाभरका सरकारी विद्यालयमा कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरु सहभागी थिए ।

Comments
Loading...