काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणमा उहाँ नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
भ्रमणको सबै तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री वाङलाई परराष्ट्र सचिव भरतराज पौड्यालसहितको टोलीले विमानस्थलमा स्वागत गर्नेछन् ।

नेपाल भ्रमणका क्रममा विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । यस्तै परराष्ट्रमन्त्री खड्कासँग दुई पक्षीय भेटवार्ताको मिति चैत १२ गतेका लागि तोकिएको छ ।
भ्रमणका क्रममा उहाँले पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्ने तय भएको छ । विदेशमन्त्री वाङ चैत १३ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।
