हिमाली आवाज । पोखरामा आयोजना गरिएको १६ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ अन्तगर्त आज सम्पन्न १० किमी दौडमा पुरुषतर्फ अजितकुमार यादव र महिलातर्फ सरस्वती बोहोराले उपाधि जित्न सफल हुनुभएको छ ।
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपुर्व खेलाडी मञ्चद्वारा पोखरा म्याराथन अन्तर्गत आयोजित सो दौडमा काठमाडौँका अजितले ३० मिनेट ४५ सेकेण्डमा निर्धारित दूरी पार गरी उपाधि सहित नगद रु २० हजारका साथमा मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नुभयो ।
विजेता यादवले सन् २०१९ मा हङकङमा सम्पन्न तीन हजार मिटर दौडतर्फ एशियन युथ एथलेटिक्सका स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी समेत हुनुहुन्छ ।महिलातर्फको १० किमी दौडमा काठमाडौँका सरस्वतीले ३९ मिनेट ३५ सेकेण्डमा पूरा गरी उपाधि सहित रु २० हजार नगद पुरस्कार जित्नुभयो ।
पुरुषतर्फ स्याङजाका युवराज थापाले ३२ मिनेट ५० सेकेण्डमा दौड पूरा गर्दैै द्धितीय र गर्दै काठमाडौँका टङ्ककबहादुर कार्कीले ३३ मिनेट पाँच सेकेण्डमा दौड पूरा गरी क्रमश ः १५ हजार र १० हजार पुरस्कार पाउनुभयो ।
महिलातर्फ सशस्त्र प्रहरी बल एपिएफ क्लबका आशा रावतले ४० मिनेट १० सकेण्डेमा दौड पूरा गर्दै द्धितीय र पोखराका गोमा पुनले ४३ मिनेट ५९ सेकेण्डमा निर्धारित दूरी पूरा गरी तृतीय हुनुभयो । उहाँहरुले क्रमशः रु १५ हजार र रु १० हजार पुरस्कार पाउनुभयो ।
प्रतियोगिता अन्तर्गतनै भएको छात्र पाँच किमि दौडमा थापाठाना माध्यमिक विद्यालय पर्वतका आनन्द थापाले १७ मिनेट पाँच सेकेण्डमा दौड पूरा गर्दै प्रथम, कालिगण्डकी मावि पर्वतका कृष्णबहादुर परियारले १७ मिनेटमा द्धितीय र मण्डली मावि गोरखाका सुरज बरामले १७ मिनेट ४१ सकेण्डमा दौड पूरा गरी तृतीय हुनुभयो ।
छात्रातर्फ तनहुँको भानु माध्यमिक विद्यालयका नर्मता गुरुङ प्रथम, पोखराको छोरेपाटन माध्यमिक विद्यालयका नारायणी भण्डारीले द्धितीय र तनहुँको भानु माविका सन्ध्या अधिकारी तृतीय हुन सफल हुनुभयो । छात्र र छात्रातर्फ प्रथम, द्धितीय र तृतीय हुन सफल खेलाडीले जनही नगद रु १० हजार, सात हजार र पाँच हजार सहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नुभयो ।
प्रतियोगिताको ह्विलचियर पुरुष इभेन्टतर्फ सुरेश गौली प्रथम, जीवन श्रेष्ठ द्धितीय र भरत अधिकारी तृतीय हुनुभयो । महिलातर्फ अन्जु बराल प्रथम, घना मगर द्धितीय र लक्ष्मी सुनार तृतीय हुँदै क्रमश ः रु १० हजार, सात हजार र पाँच हजारका साथमा मेडल र पमाणपत्र प्राप्त गर्नुभयो ।
त्यसैगरी दृष्टिविहीन पुरुष दौडतर्फ प्रेम क्षेत्री प्रथम, आदेश बस्याल द्धितीय र सुनिल राना मगर तृतीय हुनुभयो । महिला दृष्टिविहिन दौडमा विनिता पुन प्रथम, माया गौतम द्धितीय र प्रतिक्षा लामिछाने तृतीय हुन सफल भई जनही रु १० हजार, सात हजार र रु पाँच हजारका दरले पुरस्कार पाउनुभयो ।
प्रतियोगितामा पुरुषतर्फ १० किमी दौडमा २०० जना, महिला १० किमीमा १०० जना, पाँच किमी छात्रतर्फ ३००, पाँच किमी छात्रातर्फ २०० जना गरी ८०० जनाले सहभागिता जनाएका थिए । विजेता खेलाडीहरुलाई वरिष्ठ मुटु रोग विशेषज्ञ तथा काठमाडौँ इन्सिच्युट अफ चाइल्ड हेल्थका निर्देशक प्रा.डा.भगवान कोइराला, प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ लगायतले पुरस्कार विरतण गर्नुभएको थियो ।
यस अघिपोखरा रंगशालाबाट सुरु भएको दौडको शुभारम्भ पोखरा महानगर पालिकाका प्रमुख मानबहादुर जिसीले गर्नुभएको थियो ।
मञ्चले यसअघि गत फागुन ७ गते म्याराथन सम्पन्न गरिसकेको छ । कोरोना सङ्क्रमण जोखिमलाई ध्यानमा राखेर पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत फरक फरक मितिमा इभेण्टहरु आयोजना गरिएको मञ्चले जनाएको छ ।

