कास्कीको मर्दी पदयात्रा क्षेत्रमा विद्युत सेवा विस्तार गछौँ : उर्जामन्त्री भुसाल

हिमाली आवाज । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले नेपालको समृद्धिको प्रमुख आधारमा रुपमा रहेको पर्यटन क्षेत्रलाई आवश्यक विद्युत सेवा उपलव्ध गराएर सुविधा उपलव्ध गराउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

विश्व प्रसिद्ध मर्दी हिमाल पदयात्रा क्षेत्रमा विद्युतीकरणको माग सहित आएको त्यहाँका पर्यटन व्यवसायीसँग सोमबारसाँझ पोखरामा भएको भेटमा उहाँले विद्युत सुविधा नपुगेका क्षेत्रमा विद्युत विस्तार सरकारको प्राथमिकतामा रहेकाले मर्दी क्षेत्रमा विद्युत उपलव्ध गराइने प्रतिवद्धता जनाउनुभयो ।उर्जामन्त्री भुसालले सरकारले उत्पादित विजुली सकेसम्म स्वदेशमै खपत बढाउने योजना बनाएको बताउनुभयो ।
उहाँले भन्नुभयो,“हाम्रो पहिलो प्राथमिकता विदेशमा निर्यात भन्दा पनि देशभित्रै खपत वृद्धि गर्ने हो ।

जसका लागि विजुली नपुगेका क्षेत्रहरुमा राष्ट्रिय प्रसारणको बत्ती पु¥याउने योजनामा सरकार छ । पर्यटन क्षेत्रलाई चाहिएजति विजुली दिन प्रतिवद्ध छौँ ।”सरकारले आगामी दुई वर्षभित्रमा देशभर विद्युतीकरण गरिसक्ने गरी काम अघि बढाएको मन्त्री भुसालले जानकारी दिनुभयो ।

मर्दी क्षेत्रमा पर्यटकको चाप बढेसँगै होटलहरु खुल्नेक्रम वृद्धि भएपनि विजुली नहुँदा आफूहरु समस्यामा परेको पर्यटन व्यवसायीले गुनासो गरेका थिए ।

कास्कीमा अवस्थित चर्चित मर्दी हिमाल पदयात्रा क्षेत्रको डुँढखर्क, फरेष्ट क्याम्प, रेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा र हाइक्याम्प क्षेत्रमा हाल ५५ वटा होटलहरुमा सञ्चालनमा छन् ।केही वर्षदेखी यता मर्दी क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा परेको छ । सो क्षेत्रमा विद्युत विस्तार नहुँदा पर्यटन क्षेत्रमा असर पुगेको गुनासो व्यवसायीको छ ।

मर्दी क्षेत्रमा विद्युत विस्तारका लािग सिदिङ वा कालीमाटीको टान्सर्फरबाट माथि लो क्याम्पसम्म हाइटेन्सन लगेर विद्युत विस्तारको लागि विद्युत प्राधिकरण पोखराले गत वर्ष सर्भे गरेपनि काम सुरु नभएको मर्दी हिमाल ट्रेक व्यवस्थापन समितिका संस्थापक सचिव एवं मर्दी हिमाल इको भिलेजका सञ्चालक शिवप्रसाद भण्डारीले बताउनुभयो ।

उहाँले विद्युत सुविधा नहुँदा पर्यटकलाई मोवाइल र क्यामेरा चार्जदेखी इन्टरनेट सुविधा उपलव्ध गराउन समेत कठिन भएको उहाँले बताउनुभयो । फ्रिज, ओभन लगायतका उपकरण समेत सञ्चालन गर्न नसकिएको भण्डारीको भनाई छ ।

उहाँले भन्नुभयो,“मर्दी क्षेत्रको मुख्य समस्या भनेकै बिजुली हो । बिजुली नहुँदा अहिले पर्यटकलाई चाहे जस्तो सुविधा दिन सकिएको छैन । मोवाइल र क्यामेरा चार्ज गर्न पनि समस्या छ । पर्यटक बढेसँगै होटलहरु अत्यधिक बढे तर पर्यटकलाई सुविधा भएन ।”

पदयात्रामार्गको कालीमाटी र घलेल तथा प्रितम देउरालीसम्ममात्र अहिले प्राधिकरणको विद्युत सेवा पुगेको छ । विद्युत नपुगेको पर्यटकीय क्षेत्रमा हाल सोलारबाट बत्ती बाल्ने गरिएको छ ।

Comments
Loading...