बाग्लुङ । बाग्लुङमा आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
बागलुङको निसीखोला गाउँपालिका–२ खाडुमा आज साँझ पिकअप दुर्घटना हुँदा ढोरपाटन नगरपालिका वडा नम्बर १ का ४७ वर्षीय ऋतुवर्ण पौडेलको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक जयराज वन्तले जानकारी दिनुभयो ।
मृतक पौडेल नेकपा एमाले ढोरपाटन नगर कमिटीको अध्यक्ष हुनुहुन्थ्यो । निसीबाट बुर्तिबाङ तर्फ आउँदै गरेको लु १ त ९४८० नम्बरको पिकअप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अनुसार पौडेलले आफै पिकअप चलाउनुभएको थियो । दुर्घटनामा थप एक जना घाइते भएका छन् ।

