कास्कीका ७२ वटै वडामा चुनावी तालमेल गर्ने गठबन्धनको निर्णय

हिमाली आवाज । कास्कीमा क्रियाशील सत्ता गठबन्धनका पाँच दलले आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलको निर्णय गरेका छन् ।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति किशोरदत्त बरालको अध्यक्षतामा आज पोखरामा बसेको गठबन्धनका दलहरुको बैठकले जिल्लाका पाँच वटै पालिका र जिल्ला समन्वय समितिमा समेत चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।

भौगोलिक रुपमा देशकै सवैभन्दा ठूलो पोखरा महानगरपालिका र अन्नपूर्ण, माछापुच्छ«्े , रुपा र मादी गाउँपालिकाका ७२ वटै वडामा दलहरुबीच चुनावी तालमेल गर्ने सम्बन्धमा सम्बन्धित तहमा गठबन्धनमा रहेका दलहरुको संयुक्त बैठक बस्ने र संयुक्त संयन्त्र निर्माण गरिने कांग्रेसका जिल्ला सदस्य गंगाधर पराजुलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गठबन्धनमा रहेका दलहरुबीच एकता सम्मान र हार्दिकताको भावना वृद्धि गरी आसन्न स्थानीय निर्वाचनमा सहकार्य र अपनत्वको भावना सहित अगाडि बढ्ने निर्णय बैठकले गरेको छ ।

निर्वाचनमा जिल्ला, पालिका र वडा स्तरमा दलगत अवस्थाका बारेमा प्रतिवेदन तयार गर्न गठबन्धनमा रहेका दलका प्रमुख सहित १० सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरिएको बताइन्छ ।

बैठकमा कांग्रेस सभापति बराल, जिल्ला सदस्य पराजुली र बाबुराम गिरी , नेकपा(माओवादी केन्द्र)का जिल्ला संयोजक बखानसिंह गुरुङ र विश्व प्रकाश लामिछाने,नेकपा एकीकृत समाजवादीको तर्फबाट अध्यक्ष धनराज आचार्य, होम नेपाली र झपिन्द्र रेग्मी , राष्ट्रिय जनमोर्चाका अध्यक्ष रविमोहन ढकाल र सङ्घीय समाजवादीबाट अध्यक्ष गिरी प्रसाद गुरुङ र नारायण भण्डारी सहभागी हुनुहुन्थ्यो ।

Comments
Loading...