हिमाली आवाज । कोरोनाबाट शिथिल बनेको देशको प्रमुख पर्यटकीय क्षेत्र पोखराको पर्यटनलाई चलायमान बनाउँदै पर्यटन पुनःउत्थानको लक्ष्य सहित फेवाताल किनारमा नव वर्ष महोत्सव हुने भएको छ ।
होटल सङ्घ पोखराको आयोजनामा नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवद्र्धनको उद्धेश्य नेपाली नयाँ वर्षका अवसर पारेर यही चैत ३० र वैशाख १ गते दुई दिन लेकसाइडको फिस्टेल गेटदेखी हल्लनचोकसम्मको मुख्य सडकमा १७ औँ संस्करणको महोत्सव गर्न लागिएको हो ।
‘पर्यटन, संस्कृति र खाना महोत्सव’को नारा सहित सङ्घले नेपाली नववर्षहरुमा महोत्सव गर्दै आएकामा अघिल्ला दुई वर्षमा कोरोनाका कारणले रोकिएकामा यस वर्ष पुनः निरन्तरता दिइएको सङ्घका अध्यक्ष एवं महोत्सव संयोजक लक्ष्मण सुवेदीले बताउनुभयो ।
उहाँका अनुसार कोभिडका कारण दुई संस्करणको महोत्सव स्थगनपछि अहिले नयाँ पनका साथ तीन किमी खुला सडकमा महोत्सवमा सञ्चालन हुनेछ ।
पर्यटकीय शहर पोखराको पर्यटन विनासकारी भूकम्प, नाकावन्दी र पछिल्लो समय कोरोनाका कारण शुन्यतामा रहेकामा यस महोत्सवले केही रुपमा भएपनि राहत प्रदान गर्ने र नेपाली संस्कृतिको संरक्षणमा योगदान पुग्ने विश्वास आयोजकको छ ।

अध्यक्ष सुवेदीले भन्नुभयो,“नेपालका मुख्य शहरहरुमा अंग्रेजी नयाँ वर्ष धुमधामकासाथ मनाउने गरिएकामा नेपाली नयाँ वर्ष पनि उत्तिकै उल्लासका साथ मनाउन र यसको प्रचारप्रसार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने उद्धेश्य हाम्रो रहेको छ । कोरोनाले प्रभावित बनाएको यहाँको पर्यटन क्षेत्रलाई यस महोत्सवले चलायमान बनाउन सहयोग पुग्नेछ ।”
महोत्सवका अवसरमा लेकसाइडको अम्बोट र सेन्टर प्वाइन्टमा स्टेज मार्र्फत लाइभ म्यूजिक, लोकदोहोरी गायन, हास्यव्यङ्ग प्रस्तुती सहित विधि सांस्कृति कार्यक्रम सञ्चालन गरिने सङ्घका महासचिव राजेन्द्र ढकालले जानकारी दिनुभयो ।
महोत्सवको उद्घाटन अघि ड्यामसाइड र खहरेचोकबाट विविधि सांस्कृतिक झाँकी सहितको ¥यालि निकालिने आयोजकले जनाएको छ ।
महोत्सव अवधिभरका लागि सङ्घले आफ्ना सदस्य होटलहरुको प्रकाशित दररेटमा ३० प्रतिशत छुट दिई सेवा प्रदान गर्ने निर्वतमान अध्यक्ष विकल तुलाचनले बताउनुभयो ।
आन्तरिक पर्यटन प्रवद्र्धन र महोत्सवको प्रचारप्रसारका लागि संघले केही दिन अघि बुटवल, हेटौँडा र विरगञ्जमा जाउँ है पोखरा अभियान सञ्चालन गरेको थियो ।
पछिल्लो समय पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढेपछि व्यवसायी उत्साहित बनेको तुलाचनले बताउनुभयो ।
स्वदेशी पर्यटक सहित विशेषगरी भारतीय पर्यटकको आगमन उत्साहजनक रहेको बताउँदै उहाँले दुई वर्ष कोरोनाले थला परेको पर्यटनमा अहिले सकारात्मक संकेतहरु देखिएको बताउनुभयो ।
तुलाचनले भन्नुभयो,“आन्तरिक, भारतीय र तेस्रो मुलुकका पर्यटक अहिले बढेका छन् । कोरोनाको प्रभाव अन्त्य हुने हो भने यसवर्षको मुख्य सिजनमा राम्रो हुने देखिएको छ । आगामी दिनलाई राम्रो संकेतहरु देखिएका छन् ।”