कास्कीको मादी गाउँपालिकामा वडातहसम्मै गठबन्धन,साझा उम्मेदवार रहने(विज्ञप्ति सहित)

हिमाली आवाज । कास्कीको मादी गाउँपालिकामा सत्ता पक्षीय पाँच दलले गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने भएका छन् ।

नेकपा माओवादी केन्द्र मादी गाउँ कमिटीका अध्यक्ष तोरणबहादुर गुरुङको अध्यक्षतामा आज बसेको पाँच दलीय गठबन्धनको बैठकले निर्वाचनमा गठबन्धन गर्ने र वडास्तरसम्मै गठबन्धनका साझा उम्मेदवार छनोट गरी निर्वाचनमा जाने निर्णय गरेको हो ।

बैठकपछि जारी विज्ञप्तिमा पाँच दल लोकतन्त्र एवं संविधानको रक्षा गर्दै जनताको विकास र समृद्धिको सपना बनाउन तथा थप उन्नत स्तरको सुझबुझपूर्ण सहकार्य आवश्यक रहेको निष्कर्ष निकाल्दै स्थानीय तहको निर्वाचनमा जाने उल्लेख छ ।

मादी गाउँपालिकाभित्रका विकास निर्माण,शिक्षा, स्वास्थ्य , कृषि, पर्यटन, रोजगार, संस्कार , संस्कृति लगायत समग्र पक्षहरुलाई समेट्दै गठबन्धनको तर्फबाट सबै तह,तप्का र क्षेत्रका जनताको राय, सल्लाह र सुझाव लिई साझा निर्वाचन घोषणापत्र तयार गरिने विज्ञप्तिमा उल्लेख छ ।

पाँच दलले निर्वाचनमा उम्मेदवार छनोट गर्दा जनताको माझमा तुलनात्मक रुपमा बढी लोकप्रिय, सक्षम एवं सक्रिय व्यक्तिको छनोट गर्ने र थप छलफल गरी निर्वाचन केन्द्रीत कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेका छन् ।

बैठकमा नेपाली काँग्रेस मादीका उपसभापति कृष्णचन्द्र बराल,माओवादी केन्द्रका अध्यक्ष तोरणबहादुर गुरुङ, एकीकृत समाजवादीका अध्यक्ष घननाथ सापकोटा, जनता समाजवादीका इन्चार्ज राकाजी चर्माकार र राष्ट्रिय जनमोर्चाका इन्चार्ज सन्तोष पौडेल सहभागी हुनुहुन्थ्यो ।

Comments
Loading...