हिमाली आवाज । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ८ को वडाध्यक्षमा कृष्ण प्रसाद दवाडीलाई सर्वसम्मत उम्मेदवार चयन गरेको छ ।
एमाले वडाको आज सम्पन्न भेलाले वर्तमान वडाध्यक्ष समेत रहनुभएका दवाडीलाईनै पुनः वैशाख ३० गतेको निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो । वडाध्यक्षका १३ जना आकांक्षी रहेपनि बहालवाला वडाध्यक्ष समेत रहनुभएका दवाडीका नाममा सवैको सहमति भएको र एकमतले निर्णय गरिएको पार्टीका जिल्ला कमिटी सदस्य एवं गाउँपालिका इन्चार्ज महेश्वर दवाडीले जानकारी दिनुभयो ।
एमालेको उम्मेदवार चयन मापदण्डमा तीन जना सिफारिस गर्न सकिने भएपनि दवाडीको एकल नाममा सर्वसम्मत भएपछि उहाँ उम्मेदवार बन्ने निश्चित भएको हो ।

वडाध्यक्षका लागि सर्वसम्मत हुनुभएका दवाडीले विसं २०७४ सालको निर्वाचनमा आफूले अघि सारेका अधिकाँस प्रतिवद्धता पूरा गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो,“वडाको पूर्वाधार, कृषि, स्वास्थ्य, पर्यटन र सामाजिक विकासका लागि यसअघिका अधिकाँस चुनावी प्रतिवद्धता यसबीचमा पूरा गरेको छु । उहाँका जनताको चाहना अनुसारनै पुनः उम्मेदवार बन्न पार्टीले निर्णय गरेको हो । सबैको साथ सहयोगबाट मेरा बाँकी सपना अर्को कार्यकालमा पूरा गर्न प्रतिवद्ध छु ।”
भेलामा पार्टीका प्रदेश कमिटीका सचिवालय सदस्य जगन्नाथ बास्तोला, प्रदेश कमिटी सदस्य लालबहादुर परियार लगायतले समृद्ध माछापुच्छ्रेका लागि एमालेको जितको विकल्प नभएको बताउनुभएको थियो ।