काठमाडौं । वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा ठाउँ र अवस्था अनुसार देशभर तालमेल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुले संयुक्त अपिल गरेका छन् ।
पाँच दलीय सत्ता गठबन्धनले आज संयुक्त वक्तव्य जारी गर्दै स्थानीय निर्वाचनमा लागि देशैभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न आह्वान गरेको हो ।

‘देशैभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँचदलका सम्पूर्ण साथीहरुलाई आह्वान गर्दछौ ’ वक्तव्यमा भनिएको छ ।
सत्ता गठबन्धनका दलहरुले यसअघिका सबै आपसी मतभेदलाई पन्छाउँदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण समेत गरेका छन् ।
“लोकतन्त्रको फराकिलो बाटोमा नेपाली जनतालाई स्वतन्त्रता पूर्वक अगाडि बढाउन र नेपाली समाजमा न्याय र समानता कायम गर्न प्रतिगमनलाई परास्त गर्दै नेपाल राष्ट्रको सर्वाङ्गीण र अग्रगामी विकास र समृद्धि हासिल गर्न पाँचदल प्रतिबद्ध छौं । हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउँदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गर्दछौं,” वक्तव्यमा उल्लेख छ ।