पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पाँच महिनापछि सञ्चालनमा : पर्यटनमन्त्री आले

हिमाली आवाज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निकट भविष्यमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएकाले सुविधासम्पन्न पर्यटकीय पूर्वाधारमा लगानी वृद्धि गर्नुपर्ने बताउनुभएको छ ।

होटल सङ्घ पोखराको आयोजनामा आजदेखी फेवाताल किनार लेकसाइडमा सुरु भएको १७ औँ संस्करणको फेवा नववर्ष महोत्वसको उद्घाटन गर्दै उहाँले निर्माणाधीन अन्तराष्ट्रिय विमानस्थल सञ्चालनसँगै पर्यटकको चाप बढ्ने भएकाले नयाँ नयाँ पर्यटकीय गन्तव्य खोजी गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,“क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल प्रारम्भपछि तपाई पर्यटन व्यवसायीहरुले नयाँ नयाँ गन्तव्य खोज्नुपर्ने हुन्छ । भोलीका दिनमा हामी यहाँबाट सिधै अष्ट्रेलिया, जापान र मुम्बई जान्छौँ, त्यहाँका पर्यटक आएपछि हामीले कहाँ राख्ने ? उच्च क्वालिटीका पर्यटकलाई सोही अनुसारका सेवा दिनुपर्दछ । पूर्वाधारका लागि तपाईहरु अगाडि बढ्नुहोस् ।”

मन्त्री आलेले अबको पाँच महिनाभित्रमा विमानस्थल उद्घाटन गरिने जानकारी दिनुभयो ।“पोखरा क्षेत्रीय विमानस्थल छिटो सुचारु गर्नका लागि हामीले निरन्तर ताकेता गरिरहेका छौँ ।”पर्यटनमन्त्रीले भन्नुभयो,“हाल ९३ प्रतिशत काम सकिएको छ । अबको पाँच महिनाभित्रमा भव्य उद्घाटन गर्ने तयारीमा हामी छौँ ।”

मन्त्री आलले विमानस्थलको समस्याका रुपमा रहेको रिठेपानी डाँडा कटान गर्ने काम सुरु गर्न छिटो छरितो रुपमा नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)बाट निर्णय गराएर काम अघि बढाइने बताउँदै ल्याण्डफिल साइट व्यवस्थापनमा लाग्न स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।
पोखरा पर्यटकको आकर्षक गन्तव्य रहेकाले पर्यटन व्यवसायीको माग अनुसार पोखरालाई पर्यटकीय राजधानी घोषणाको योजनामा सरकार रहेको मन्त्री आलले बताउनुभयो ।

उहाँले भन्नुभयो,“यति बेला आगामी वर्षको बजेटको तयारीमा सरकारले लागेको छ । पोखरालाई पर्यटन राजधानीको रुपमा नामकरण गर्न मन्त्रिपरिषद्मा प्रश्ताव लगेर पास गर्ने र आउने नीति कार्यक्रममा त्यसलाई ल्याउने गरी काम गर्नेछौँ। ”

होटल सङ्घ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले कोभिडका कारण सुस्ताएको नेपालको पर्यटन जुर्मुराउन थालेको र आन्तरिक पर्यटनले भरथेग गरेको बताउनुभयो । उहाँले छिमेकी मुलुक भारत र चीनका पर्यटक ल्याउनका लागि ती देशहरुमा प्रवद्र्धनात्मक कार्यक्रम सरकारले सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,“भारतमा यति बेला चर्को गर्मी बढेको र स्कुल तथा विद्यालयहरु बन्द हुँदा धेरै पर्यटकहरु नेपाल आउन लालायित छन् । चिनियाँहरु पनि आउने बुद्ध पूर्णिमामा नेपाल आउने इच्छा जाहेर गरेर सरकारबाट सहजीकरणको पर्खाइमा छन् । सरकारले यी देशबाट धेरैभन्दा धेरै पर्यटक ल्याउन पहल गर्नुपर्दछ ।”

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्यद्धय दीपक कोइरला, राजिव पहारी, होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुली, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराई लगायतले पर्यटन प्रवद्र्धनमा महोत्सव फलदायी हुने बताउनुभयो ।

कोरोनाबाट शिथिल बनेको पोखराको पर्यटनलाई चलायमान बनाउँदै पर्यटन पुनःउत्थानको लक्ष्य सहित फेवाताल किनारमा नव वर्ष महोत्सव आयोजना गरिएको हो ।

नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवद्र्धनको उद्धेश्य सहित नेपाली नयाँ वर्षका अवसर पारेर आयोजना गरिएको महोत्सव वैशाख १ गतेसम्म लेकसाइडको फिस्टेल गेटदेखी हल्लनचोकसम्मको मुख्य सडकमा सञ्चालन हुने सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो ।

Comments
Loading...