माओवादीले जितेका स्थानीय तहमा मात्रै सुशासन छ :अर्थमन्त्री बराल

हिमाली आवाज । गण्डकी प्रदेशका अर्थमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामजी प्रसाद बराल(जीवन)ले गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले जितेका स्थानीय तहमामात्रै सुशासन कायम भएको बताउनुभएको छ ।

नेकपा(माओवादी केन्द्र) पोखरा महानगरपालिका –११ ले आज आयोजना गरेको वडा कार्यालय उद्घाटन, भित्ते पात्रो विमोचन तथा नववर्षको शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले माओवादी विजयी भएका देशका स्थानीय तहमा नमूना विकास भएको र सुशासन कायम भएको उल्लेख गर्दै अन्य पालिका अनियमिततामा डुबेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,“अघिल्लो निर्वाचनमा माओवादीले जितेका स्थानीय तहमा सुशासन कायम भएको छ । त्यहाँ बेरुजु र भ्रष्टचार छैन । जनताका काम छिटो भएका छन्, जनतासँगको सम्बन्ध राम्रो बनेको छ । अन्य पार्टीले जित्दा अनियमितता र कुशासनले प्राथमिकता पाएको छ । ”

नेता बरालले माओवादी पार्टीको अगुवाईमा गणतन्त्र स्थापना तथा स्थानीय सरकार गठन भएको बताउँदै जसको नीति उसको नेतृत्व हुनुपर्ने र अबको निर्वाचनमा पोखरा महानगरमा माओवादी केन्द्रलाई जिताउनुको विकल्प नभएको उल्लेख गर्नुभयो ।

प्राकृतिक सम्पदाको संरक्षण, तीव्र विकास र सुशासन तथा जनअपेक्षा पूरा गर्नका लागि माओवादीले जित्नै पर्ने बताउँदै मन्त्री बरालले सम्पूर्ण पार्टी पंक्तिलाई निर्वाचनमा होमिन र माओवादीका एजेण्डा जनतालाई बुझाउन आग्रह गर्नुभयो ।

पार्टीका प्रदेश कमिटी सदस्य एवं राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगाप्रसाद पोखरेलले माओवादीकै नेतृत्वमा देशका सम्पूर्ण भूमिहीन सुकुम्वासीलाई रातो पूर्जा दिइ छाड्ने प्रतिवद्धता जनाउनुभयो । अघिल्लो आयोगले केही पनि काम नगरेकाले ढिलाई भएपनि आफू नेतृत्वको आयोगले कास्कीका सबै भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने बताउनुभयो ।

पार्टीका महानगर कमिटीका अध्यक्ष हरिनारायण गिरी(विज्ञान)ले आगामी निर्वाचनमा ब्यालेट मार्फत महानगर कब्जा गरिने बताउँदै जनताको काममा बिलम्ब गर्ने र दुःख दिने प्रवृत्तिलाई सदाका लागि अन्त्य गरिने दावी गर्नुभयो ।

नेकपा(माओवादी केन्द्र) पोखरा महानगरपालिका –११ वडा इकाई कमिटीका अध्यक्ष मनोज रसाइलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका महानगर कमिटीका उपाध्यक्ष हर्कमान विश्वकर्मा, एमालेका वडा कमिटीका अध्यक्ष मीन गुरुङ, काँग्रेस वडा इकाई उपसभापति वसन्तराज कोइराला, एकीकृत समाजवादीका वडाध्यक्ष कृष्णमान श्रेष्ठ, नेकपा(माओवादी केन्द्र) पोखरा महानगरपालिका –११ वडा इकाईका उपाध्यक्ष विष्णुप्रसाद आचार्य, सचिव चिन्तामणि खरेल लगायतले शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री बरालले वडा समितिका कार्यालय भवन उद्घाटन गर्नुभयो ।साथै सो अवसरमा उहाँले क्यालेण्डर विमोचन गर्नुभयो ।

नेकपा(माओवादी केन्द्र) पोखरा महानगरपालिका –११ व्वडा समितिका अध्यक्ष मनोज रसाइलीले वडामा पार्टी संगठन अघिल्लो निर्वाचनका तुलनामा मजवुत बनेको बताउनुभयो ।

उहाँले पछिल्लो समय पार्टीले मजदुर, उत्पीडित वर्ग र भुमिहिन सुकुम्वासीका पक्षमा लिएको अडान र कार्यक्रमबाट माओवादीप्रति जनताको आकर्षण बढिरहेको बताउनुभयो । सचिव चिन्तामणि खरेलले केही दिनमै स्थानीय तह निर्वाचनका लागि पार्टीका उम्मेदवार सर्वसम्मत सिफारिस गरिने जानकारी दिनुभयो ।

Comments
Loading...