हिमाली आवाज । वैशाख ३० गते तोकिएको स्थानीय तह निर्वाचन अन्तर्गत आज उम्मेदवार मनोनयनको अन्तिम दिन रहेको छ । निर्वाचन आयोगले उम्मेदवार मनोनयनका लागि दुई दिनको समय दिएकामा हिजो साना दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका थिए ।
मनोनयनको केही घण्टामात्र बाँकी रहँदासम्म पनि ठूला राजनीतिक दलहरु उम्मेदवार टुँगो लगाउन सकेका छैनन् । निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको सत्ता गठबन्धन पनि अझै सिट बाँडफाँटमा छलफलमै छन् ।
देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन सुरु हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले सोमबार पनि बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्न सक्ने कार्यतालिका बनाएको छ ।

