पोखरा । पोखरा महानगरपालिकामा नेपाली कांग्रेस सहितका पाँच दलीय गठबन्धनका तर्फबाट महानगरपालिकाको प्रमुख पदमा धनराज आचार्य र उपप्रमुख पदमा कोपिला रानाभाटले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
गठबन्धनका तर्फबाट नेकपा(एकीकृत समाजवादी)का कास्कीका अध्यक्ष एवं केन्द्रीय सदस्य समेत रहनुभएका आचार्यले आज दिउसो गठबन्धनका नेताहरु सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउनुभयो । उपप्रमुखमा उम्मेदवारी दिनुभएका रानाभाट नेपाली काँग्रेसको महिला संगठन नेपाल महिला संघमा क्रियाशील हुनुहुन्छ ।
उम्मेदवारी दर्ताका क्रममा पत्रकारसँगको कुराकानीमा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार आचार्यले निर्वाचित भएसँगै पोखराको समुन्नति र आम पोखरेलीको अपेक्षा अनुरुप काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

