राप्रपा अब देशको ठुलो पार्टी बन्दैछ:केन्द्रीय उपाध्यक्ष गुरुङ

हिमाली आवाज । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङले आगामी चुनावमा पार्टी नेपालकै तेस्रो ठुलो पार्टी हुने दाबी गर्नुभएको छ । पछिल्लो समय नेतृत्व परिवर्तन भएसँगै युवाहरुको आकर्षण राप्रपाप्रति बढेको उहाँले बताउनुभयो ।

पोखरामा आयोजित राप्रपाको स्थानीयतह निर्वाचनका उम्मेदवार प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा राप्रपा केन्द्रीय उपाध्यक्ष गुरुङले भन्नुभयो,‘हामी धर्मयुद्धमा छौँ । र, यो कुरामा स्पष्ट हुनुहोस् कि अन्त्यमा धर्मकै जित हुन्छ ।’

पछिल्लो समय देशव्यापी रुपमा राप्रपा र राप्रपाले उठाएका मुद्दाको विषयमा सकारात्मक वहश चल्ने क्रम बढेको उहाँको भनाई छ । पार्टीको यस्तो खाले माहौल बनेको ईतिहासमै पहिलोपटक भएको उहाँको दावी छ । ‘राजेन्द्र लिंदेनको नेतृत्वले यो माहौल बनाएको हो । र, पार्टीको स्वरुप पनि अब चाँडै फेरिने निश्चित छ ।’ उहाँले भन्नुभयो ।

कार्यक्रममा राप्रपाका गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङ, केन्द्रीय सदस्य डा. महेन्द्रबहादुर केसी, राप्रपा नेता जयलाल पुन, जिल्ला अध्यक्ष नारायण गुरुङ लगाएतले भनाई राख्नुभयो ।

राप्रपाले आसन्न निर्वाचनका लागि पोखरा महानगरपालिकाको मेयरमा शंकर खराल र उपमेयरमा रञ्जना सेन पौडेललाई उम्मेदवारको रुपमा अगाडि सारेको छ । पार्टीले देशभरीका स्थानीयतहमा कुल १२ हजार ४ सय ३७ जना उम्मेदवारलाई उठाएको छ ।

Comments
Loading...