हिमाली आवाज । नेपाली काँग्रेसबाट माछापुच्छ«े गाउँपालिका अध्यक्षका उम्मेदवार मिन बहादुर गुरुङले युवाहरुका लागि ‘गाउँ फर्क अभियान’ नै सञ्चालन गर्ने बताउनुभएको छ ।
गाउँपालिकालाई सबै क्षेत्रमा आत्मनिर्भर बनाउने उद्धेश्यसहित युवाहरु राजेगारी र विकासका लागि शहर केन्द्रित हुन नपर्ने उहाँको भनाई छ ।
उम्मेदवार गुरुङले भन्नुभयो,‘हाम्रो नेतृत्वले युवाहरुलाई गाउँमै फर्काउने छ । विकासका कुरा होस् या रोजगारीका कुरा, त्यो वातावरण हामी यहिँ सिर्जना गर्ने गरि योजना अघि बढाउने छौँ ।हाम्रो नेतृत्वले युवाहरुलाई गाउँ फर्कन लालायित बनाउने छ ।’अथाह सम्भावना भएको पर्यटन क्षेत्रलाई चलायमान बनाउँदै पालिकाबासीको आर्थिक स्तरोन्नतीमा प्रत्यक्ष भूमिका खेल्नेगरि योजना तयार भएको उहाँले बताउनुभयो ।
कृषिमा पालिकालाई पूर्ण आत्मनिर्भर बनाउने अठोट रहेको बताउँदै उम्मेदवार गुरुङले वाचा गरेका हरेक काम समयमा नै कार्यान्वयन हुने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

यस्तै, गाउँपालिका उपाध्यक्ष उम्मेदवार सिता अधिकारीले गाउँपालिकाको विकासका लागि कुनै हालतमा नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । नेतृत्व परिवर्तन नभए पालिका थप ५ वर्ष पछाडी धकेलिने उहाँको जिकिर छ ।‘अहिलेको नेतृत्वको कमिकमजोरी धेरै भए । यहिँ अवस्था अब पनि आइलाग्यो भने, फेरी तपाई विकास सूशासन लगायतका कुरामा ५ वर्ष पछाडि धकेलिनु हुनेछ । पछि पछुताउनु भन्दा अहिले सहि निर्णय लिनुस्’ उहाँले भन्नुभयो ।
गाउँका महिलाहरुको स्वास्थ्यमा आइपर्ने समस्याबारे सम्बोधन गर्दै उहाँले स्थानीय सरकारले नै सहजिकरण गर्नेगरि काम अघि बढाइने प्रतिवद्धता जनाउनुभयो ।
उपाध्यक्ष उम्मेदवार अधिकारीले भन्नुभयो,‘कतिपय महिलाहरु आफ्नो स्वास्थ्य समस्या लुकाएर बस्नु पर्ने अवस्था छ । कति उपचार गर्न नसक्ने अवस्थामा पनि हुनुहुन्छ होला । पालिकाको नेतृत्व लिँदै गर्दा हामीले महिलाको स्वास्थ्यप्रति संवेदनशिल रहँदै समस्याको पहिचान र उपचारमा सहजिकरण गर्ने छौँ।’