ग्रेटर पोखरा बनाउने लक्ष्यका साथ गठबन्धन चुनावमा होमिएको हो : आचार्य

हिमाली आवाज । गठबन्धनबाट पोखरा महानगरपालिकाको उम्मेदवार बनेका धनराज आचार्यले सबै मिलेर नै पोखरा बनाउनुपर्ने बताउनुभएको छ । पोखरा महानगरपालिका ७ र १७ को घरदैलोमा उनले एक व्यक्ति वा एक राजनीतिक दलले मात्र पोखरा बनाउन नसक्ने र पोखरा बनाउनका लागि सबैको साथ र समर्थनको आवश्यकता हुने जनाउनुभयो ।

उहाँले गठबन्धनको घोषणा पत्रमा उल्लेख गरेका सबै विषयलाई ५ वर्षमा पूरा गर्ने लक्ष्यका साथ चुनावी मैदानमा होमिएको सुनाउनुभयो । ‘आजसम्म जुन ढंगले अभिभावकत्व प्रदान गर्नुपथ्यो, विगतको सरकारले गरेन । गणतन्त्रपछि बनेको स्थानीय सरकार विगतमा धेरै ठाउँमा चुकेको छ’, उहाँले भन्नुभयो ।

महानगर र वडाको कामलाई विभाजन गरिने र वडाबाटै हुने कामलाई महानगरमा जान नपर्ने गरी व्यवस्था मिलाइने उल्लेख गर्नुभयो । राइट पिपुल राइट प्लेसको अवधारणालाई अगाडि सारिने उल्लेख गर्दै उहाँले महानगरमा भएका कर्मचारी कसैलाई फूल ड्युटी नभई ड्युटीफूल बनाइने योजना सुनाउनुभयो ।

उम्मेदवार आचार्यले पोखरा महानगरपालिकाको अहिलेको जनसंख्या झण्डै ६ लाख भएको भएको औंल्याउँदै १० वर्षअघिको जनसंख्याका लागि बनेका संरचना अहिले अनुपयुक्त भएको तर्क गर्दैै भन्नुभयो,‘यो बेला जनसंख्या २ लाख ५२ हजार थियो । त्यति बेलाका लागि बनेको पूर्वाधार अहिलेको जनसंख्यालाई थेग्ने खालका छैन । अबको १० वर्ष पछिको जनसंख्या कति हुन सक्छ होला । त्यसलाई आंकलन गर्दै विकासका परियोजनालाई अगाडि बढाइनेछ ।’

५० वर्ष पछिको पोखरालाई ध्यान दिएर ग्रेटर पोखरा बनाउने लक्ष्यका साथ गठबन्धन चुनावमा होमिएको उहाँको भनाई छ । समृद्ध सहरको परिकल्पना गरिरहँदा मोटरबाटो र पुल निर्माण लाई मात्र हेर्नन हुने तर्क उहाँको छ । सभ्य नागरिक बस्न सक्ने पोखरा बनाउने दायित्व सबैको भएको उहाँले बताउनुभयो ‘हिजो हाम्रा पुर्खाले बनाएका चौतारा आज हराएका छन्, पार्क छैनन् । उपत्यका नगर विकास समितिका जग्गामा अव्यवस्थित बसोबास भइरहेको छ । देखिएका सबै समस्यालाई चिरफार गर्ने गरी हामी लागिपरेका छौं’, उहाँले भन्नुभयो ।
उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले आफूहरु जनताको सेवामा केन्द्रीत हुने बताउनुभयो । रानाभाटले गठबन्धन आजको आवश्यकता भएको र जित सुनिश्चित भएको उल्लेख गर्नुभयो ।

नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बरालले गठबन्धनका उम्मेदवारलाई नगरवासीले मत दिए सुन्दर र समृद्ध पोखरा आफूहरुले दिने धारणा राख्नुभयो ।गठबन्धनले आमा समूहलाई १ समूह, १ उत्पादन कार्यक्रममा समेट्ने योजना बनाएको छ । यस्ता समूहलाई कुनै उद्योग खोल्न महानगरले २० प्रतिशत अनुदान दिने नीति लिइने गठबन्धनको घोषणापत्रमा उल्लेख गर्नुभयो । गठबन्धनले जित हासिल गरे बाँकी ८० प्रतिशत लगानीका लागि महानगर बैंक ग्यारेन्टी ऋणको व्यवस्था गरिने जनाइएको छ ।

गठबन्धनले अति विपन्न परिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने, आकस्मिक रेस्पोन्स तथा ट्रमा सेन्टरको सुविधासहित महानगरीय स्वास्थ्य सेवा अन्तर्गत मेट्रो अस्पताल सञ्चालन गर्ने, ३ महिनाभित्र पोखरा महानगरपालिकामा घुम्ती अस्पताल र ‘सुन्दर पोखरा स्वस्थ पोखरेली’ कार्यक्रम, सुत्केरी आमा र बच्चाको स्वास्थ्य प्रवद्र्धनका लागि ६ महिनासम्म २ हजारका दरले सुत्केरी पोषण जस्ता योजनाअघि सारेको छ ।

Comments
Loading...