‘मादीको समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराऔँ ’

हिमाली आवाज । कास्कीको मादी गाउँपालिका–११ मा सत्तारुढ गठबन्धनले बुधबार बृहत चुनावी सभा गरेको छ ।
आसन्न स्थानीय तह निर्वाचनमा जुटेको गठबन्धनले निर्वाचन लक्षित सभामार्फत मत मागेको हो । गठबन्धनबाट गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका देवीजंग गुरुङ र उपाध्यक्षमा माओवादी केन्द्रका लालबहादुर गुुरुङ उम्मेदवार हुनुहुन्छ ।

चुनावीसभालाई सम्वोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सांसद यशोदा सुवेदी गुरुङले गाउँपालिकालाई समृद्ध बनाउन गठबन्धनका उम्मेदवारका पक्षमा मतदान गरी विजयी गराउन आग्रह गर्नुभयो ।

गठबन्धनले जित्दा मात्र स्थानीय सरकारमा जनताको सही प्रतिनिधित्व हुने उल्लेख गर्दै भन्नुभयो,“मादीको विकासका लागि गठबन्धनका उम्मेदवार विजयी हुनु आवश्यक छ । जसले अहिलेको व्यवस्था ल्याउन र यसलाई समृद्ध बनाउन लड्यो त्यही शक्तिको नेतृत्वमा आउदामा मात्र जनताले सुविधा पाउँछन् ।”

नेकपा(माओवादी केन्द्र) गण्डकी प्रदेशका अध्यक्ष एवं प्रदेश सांसद गायत्री गुरुङले विकासमा पछि परेको मादी गाउँपालिकालाई सडक पूर्वाधारको विकासबाट सबै वडामा पक्की कालोपत्रे सडक निर्माणका लागि गठबन्धनलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो ।

सभामा गठबन्धनका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारद्धय देवीजंग गुरुङ र लालबहादुर गुरुङ, नेपाली काँग्रेस क्षेत्रीय सचिव सरोज केसी, काँग्रेस मादी गाउँपालिका अध्यक्ष यमबहादुर गुरुङ, माओवादी अध्यक्ष तोरण गुरुङ, काँग्रेसबाट सो वडाका वडाध्यक्ष प्रत्याशी चलचित्र गुरुङ, माओवादीबाट अध्यक्षका प्रत्याशी मित्रबहादुर गुरुङ, एकीकृत समाजवादीका तर्फबाट निर्वाचन प्रचार प्रसार समितिका संयोजक रनबहादुर लामा, काँग्रेस इकाई सभापति बाबुराम रानाभाट र माओवादी केन्द्रका वडाका अध्यक्ष बुद्धिनाथ खनाल लगायतले उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो । मादीको पालिकामा काँग्रेस र माओवादीबीच गठबन्धन भएपछि सो वडामा दुबै दलले मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय सहित आआफ्नो उम्मेदवार उठाएका छन् ।

Comments
Loading...