हिमाली आवाज । नेकपा एमालेबाट कास्कीको मादी गाउँपालिका अध्यक्ष उमेद्वार शिवबहादुर गुरुङ (महेन्द्र) ले निर्वाचित भए गाउँपालिकालाई टुरिजम हब बनाउने प्रतिवद्धता गर्नुभएको छ ।
बुधबार मादी ५ ठूलास्वाँरामा आयोजित चुनावी सभामा बोल्दै उहाँले मादीमा पर्यटनको अहिलेभन्दा राम्रो सम्भावना भएको बताउनुभयो । मादी–५ बयरघारीमा कृतिम ताल बनाउनेसहित मादीका गाउँमा पिकनिक स्पोर्ट, बिबिक्यु स्पोट, वाटर–स्पोर्ट, डेजर्ट बाइकजस्ता एड्भेन्चर योजना आफूसँग रहेको महेन्द्रले सुनाउनुभयो । यी गतिविधिले होटल–रेष्टुरेन्ट चलेपछि गाउँमै रोजगारी सिर्जना हुने भएकाले विदेशिने बाध्यता नहुने उहाँको भनाई छ ।
चुनाव जितेमा मादी नदीमा ¥याफ्टिङ सञ्चालन गरेर पर्यटकलाई आकर्षित बनाउने उहाँको प्रतिवद्धता छ । ‘ठूलास्वाँराजस्ता भर्खर होमस्टे सञ्चालन गर्दै गरेको ठाउँ थुप्रै छन् । होमस्टे राम्रो बनाउन तालिम आवश्यक छ । त्यसको लागि तालिम सञ्चालन गर्ने छु ।’ उहाँले भने, ‘मादीका सुन्दर गाउँलाई होमस्टेको रुपमा विकास गर्नेछु ।’ गाउँका पर्यटकीय सम्भावनालाई उजागर गरेर गरिबी न्यूनिकरण गर्न सकिने उहाँको भनाई छ ।
उपाध्यक्ष उमेद्वार कल्पना गुरुङले १ कार्यकाल गाउँ कार्यपालिका सदस्य हुँदा उत्पीडित समुदायको समस्या देखेको र चुनाव जितेमा त्यसलाई समाधान गर्न आफू लाग्ने बताउनुभयो । ‘भन्नलाई नारीले आधा आकाश ढाकेका छन् भन्छौं, तर हामी पिछ्डिएकै छौं । त्यसैले सम्पूर्ण नारीको प्रतिनिधित्व गरेर आएकी छु ।’ उहाँले भन्नुभयो,‘महिलाको क्षमता अभिवृद्धि र अर्थोपार्जनसँग जोड्न प्रयत्न गर्ने प्रतिवद्धता गर्दछु ।’ चुनाव जिते शासक नभई, सेवक भएर काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
मादीमा नेकपा (एमाले) बाट प्रमुखमा शिवबहादुर गुरुङ (महेन्द्र) संगै उपप्रमुखमा कल्पना गुरुङ, मादी १ मा उमरबहादुर गुरुङ, २ मा एकजंग गुरुङ, ३ मा ज्यामप्रसाद गुरुङ, ४ मा शिवप्रसाद सापकोटा, ५ मा सुब्बा गुरुङ, ६ मा डिलबहादुर क्षेत्री, ७ मा रामप्रसाद गुरुङ, ८ मा प्रेमबहादुर गुरुङ, ९ मा मनोजकुमार गुरुङ, १० मा रामराज सुवेदी, ११ मा सिंहमान तामाङ र १२ मा प्रकाश बराल एमालेबाट वडाध्यक्षका उमेद्वार हुनुहुन्छ ।


