गठबन्धनका उम्मेदवार भन्छन्:ग्रामीण भेगमा महानगरको आभास दिलाउँछौं

हिमाली आवाज । देशकै ठूलो भूगोल भएको पोखरा महानगरमा यसपालि सत्ता गठबन्धन र एमालेका उम्मेदवारबीच मुख्य प्रतिश्पर्धा छ । गठबन्धन, एमाले र अन्य दलका उम्मेदवारहरु अहिले चुनावी प्रचारप्रसारमा जुटेका छन् ।

गठबन्धनबाट मेयरका उम्मेदवार धनराज आचार्य र उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले महानगरका ग्रामीण क्षेत्रमा विकासको लहर ल्याउने प्रतिवद्धता गर्नुभएको छ । बुधबार पोखरा वडा २३, २४ र १८ मा भएका चुनावी कार्यक्रममा उहाँहरुले यस्तो बताउनुभयो ।

ग्रामीण क्षेत्रका सडक पिच गर्ने, खानेपानीको उचित व्यवस्थ गर्ने, पर्यटकीय संरचना बनाउने, सम्पदा संरक्षण र प्रवद्र्धन गर्ने बाचा उहाँहरुको छ । महानगरका वडाभरि नै पिच बाटो नहुनु दुर्भाग्य भएको उल्लेख गर्दै आचार्य र रानाभाटले सहज सडक पहुँचबिना समृद्धिको कल्पना गर्न नसकिने उल्लेख गर्नुभयो ।

एमाले नेतृत्वको सरकारले प्रतिवद्धता पूरा नगरेकाले आफूहरुलाई जिताउन आग्रह गर्नुभयो । मेयर उम्मेदवार आचार्यले भन्नुभयो,‘अहिलेसम्म तपाईहरुलाई एमालेको सरकारले उपेक्षा गरिरह्यो । अब सही निर्णय गरी समृद्धि हासिल गर्ने बेला आएको छ । ’

सिल्टेसन ड्याममा समेत ठूलो घोटला भएको आरोप गठबन्धनको छ । सिल्टेसन ड्याम बनाउँदा भएका कमी, कमजोरीलाई पत्ता लगाई समस्या समाधान आचार्यले वाचा गर्नुभयो । फेवा किनारमा बस्ने स्थानीयको सुरक्षालाई ध्यान दिई ताल र सिमसार क्षेत्र संरक्षण गरिने प्रतिवद्धता जनाउनुभयो ।

पोखरा २४ मा देखिएको खानेपानी समस्या समाधान गर्न दीर्घकालीन योजना बनाउने र कास्कीकोटको ऐतिहासिकतालाई जोगाउने उहाँको भनाई छ । उपमेयर उम्मेदवार रानाभाटले पर्यटन विकासका लागि आवश्यक अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाई काम गर्ने उल्लेख गर्नुभयो ।

पोखरा १८ को सराङकोटमा थप पूर्वाधार विकास आफूहरुको नेतृत्वमा मात्र सम्भव हुने गठबन्धनको दाबी छ । ‘सराङकोटको टावरलाई व्यवस्थित गरी पर्यटकका लागि थप आर्कषण थप्ने योजनासहित हामी लाग्नेछौं,’ आचार्यले भन्नुभयो ।

Comments
Loading...