हिमाली आवाज । पोखरा महानगरका मेयरपदका उम्मेदवार धनराज आचार्यले घोषणा पत्रका हरेक शब्द ईमान्दार तरिकाले पालना गर्दै मेयरको वडामा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
पोखरा २८ कालिकामा विहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले विगतका घोषणा पत्रमा भएका कुराको पालना नगरेकै कारण आज फरक तरिकाले आउन बाध्य भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “हामी घोषणापत्रको अक्षरशः पालना गर्नेछौं । यसअघि घोषणापत्र पालना नगरेकै कारण आज यो अवस्था आएको हो । हिजोका घोषणापत्र इमान्दारी पुर्वक पालना गरेको भए हामी यहाँ हुने थिएनौं । हिजोको नेतृत्व असक्षम र जनताप्रति इमानदार नभएका कारण गठबन्धन गरेका हौं ।”

उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले आफू नजिकैको वडावासी भएकाले पोखरा २८ को विकासको साक्षी भएको बताउनुभयो । लामो समयदेखि कालिका माझठाना पूर्वाधारमा पछि परेको टिप्पणी गर्दै उहाँले कालिकाको एउटा मात्र चिल्ला बाटो हेरेर होईन पाखा, पखेरा र टोल टोलको विकासको मूल्यांकन गर्दै वैशाख ३० मा भोट गर्न आग्रह गर्नुभयो । महिलामैत्री, बालबालिकामैत्री, जेष्ठ नागरिकमैत्री महानगरपालिका बनाउने आफ्नो योजना रहेको पनि सुनाउनुभयो ।
नेपाली कांग्रस कास्कीका सभापति किशोरदत्त बरालले विकासका लागि राजनीतिक नाराको पछि लागेर नहुने बताउँदै पाँच वर्षमा राजनीति नाराको पछि लाग्दा कालिकाका स्थानीयले पाउनुपर्ने विकास नपाएको उल्लेख गर्नुभयो । पार्टी भन्दा माथी उठेर असल र कुशल नेतृत्वलाई चुन्न आग्रह गर्दै देशको लोकतन्त्र खतरामा पर्दा पाँच दल मिलेर लोकतन्त्रको रक्षाका लागि अघि बढेको स्पष्ट पार्नुभयो ।
नेकपा एकिकृत समाजवादीका पोलिटव्युरो सदस्य श्रीनाथ बरालले संविधान जोगाउन र अग्रगमनका लागि गठबन्धन गरेको बताउनुभयो ।
घरदैलौ कार्यक्रममा नेपाली कांग्रेसकी महासमिति सदस्य सरस्वती गुरुङले आफ्नै पार्टीले अनावश्यक दबाब दिएर मानबहादुर जिसी अस्वस्थ भएको दाबी गर्नुभयो ।
पोखरा २८ बाट अध्यक्षका उम्मेदवार श्रीकृष्ण लामिछानेले महानगरकै वडा भएपनि राज्यबाट पाउने अधिकार नपाएको बताउनुभयो ।